Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोखामा बरामद २५ करोड, सिन्धु सहकारीबाट नारायणले लगेका थिए २ करोड !


    बुधबार, चैत्र २७ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । गएको चैत ४ गते टोखाबाट ट्रकमा बरामद भएको अबैध २५ करोड रुपैयाँ नारायण पौडेलको भएको राजस्व अनुसन्धान बिभागले जानकारी दिएको छ ।

    नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको उक्त रकम राजस्वको अनुसन्धानमा नारायण पौडेलको भएको देखिएको छ । तर उक्त रकम चीन पठाउने मामिलामा उनका दुई भाइ बच्चु पौडेल र राजकुमार पौडेलसमेत उत्तिकै संलग्न रहेको स्रोत बताउँछ ।

    सो रकम बच्चु पौडेल र राजकुमारको समेत भएको तथ्य बिस्तारै खुल्न थालेको छ । टोखामा बरामद भएको रकममध्ये २ करोड रुपैयाँ सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाबाट निकालिएको तथ्य खुलेको छ । जुन सहकारीका अध्यक्ष बच्चु पौडेल छन् ।

    सिन्धु सहकारीमा पौडेल दाजुभाइको कालोधन धेरै रहेको स्रोतको दाबी छ । उक्त सहकारीको साधारणसभाको बैधतामै प्रश्न उठिरहेको छ । केही महिनाअघि भएको साधारणसभा समेत कोरम नै नपुगी गरिएको आरोप लाग्ने गरेको छ । सहकारीका सचिवमा प्रल्हाद थापालाई राखिएको छ । जसको नाममा समेत पौडेल दाजुभाइले अथाह सम्पत्ति खरिद गरी शुद्धीकरण गरेको आरोप छ ।

    रक्तचन्दन, सुन र भेपदेखि बिभिन्न तस्करीमा मुछिएका नारायण–बच्चु–राजकुमार पौडेल दाजुभाइले नै उक्त रकम चीनमा पठाएका थिए । राजस्वको अनुसन्धानले नारायणको मात्र संलग्नता देखिए पनि उक्त रकम जम्मा गर्न बच्चु पौडेल र राजकुमार पौडेलको संलग्नता खुल्न थालेको छ । सिन्धु सहकारीबाट नारायणका नाममा समेत २५ करोड बरामद हुनुअघि ऋण प्रवाह गरिएको देखिएपछि बच्चुको कनेक्सन प्रष्टै भएको छ ।

    प्रहरीसँग सेटिङ मिलाएर उनीहरुले रकम चीन लाने गर्दैआएका थिए । तर चैत ४ गते राति सेटिङ गरिएको च्यानलभन्दा बाहिरको प्रहरी युनिटले सूचना पाएपछि उनीहरुको रकम बरामद गरेको थियो । रकम बरामद भएपछि नारायण पौडेलमात्र होइन, बच्चु र राजकुमारका साथै तीनै भाइका परिवारसमेत विदेश पलायन भएका छन् । नारायण दुबईमा भागेको भनिएको छ । उनीहरु दिल्लीमै रहेको समेत स्रोतको दाबी छ ।

    स्रोत भन्छ–राजस्वले मिहीन अनुसन्धान गर्ने हो भने नारायण–बच्चु–राजकुमारले तस्करीबाट १० अर्ब भन्दा बढी कालोधन जम्मा पारेका छन् । राजस्व अनुसन्धान बिभागले छानबिन गर्ने हो भने नारायण, बच्चु र राजकुमारले रक्तचन्दन र सुन लगायतका तस्करीबाट यो धन जम्मा गरी त्यसलाई शुद्धीकरण गर्न आफ्नो फर्ममा काम गर्ने सवारीचालकदेखि फर्ममा काम गर्ने २३ जना कर्मचारीको नाममा लुकाएका छन् ।

    ती कर्मचारी प्रत्येकलाई काठमाडौंमा घर किनिदिएर उनीहरुको नाममा आफ्नो सम्पत्ति लुकाउँदैआएका छन् । उनीहरुले लुकाएको सम्पत्तिमध्ये एक सामान्य परिवारका सदस्यहरुको खातामा मात्र पछिल्लो ६ महिनामा १ अर्ब २३ करोड रुपैयाँ कारोबार देखिएको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार