Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापा र रविन्द्र मिश्रहरु, ओलीको बिरोध होइन, कोरोना रोकथाममा सहयोग गर


    सोमबार, बैशाख ८ २०७७
    1.4K
    Shares
  • ५ मिनेट पाठ
  • बिदुर अधिकारी

    केपी ओली भगवान होइनन् । जसरी उनका विपक्षी गगन थापा, रविन्द्र मिश्र, बाबुराम भट्टराई आदि लागि परेर अहोरात्र उनलाई भगवान होइनन् भन्ने पुष्टि  गर्न तल्लीन छन्, त्यो निरर्थक छ । ओली भगवान हुँदै होइनन् । नभएको कुरालाई होइन भन्न प्रमाणित गर्न मुटु चुँडिने गरी बल लगाउनुपर्दैन ।

    ओलीले भाइरस निर्जीव हो भनेका छन् र यसबाट बाँच्न गर्नुपर्ने केही घरेलु उपाय बताएका छन् । बैज्ञानिकहरुले पनि कोरोना भाइरस पूर्ण सजीव होइन, तर सजीव तत्वहरुसँग मिलेर यसले सजिवकै जस्तो उपद्रव व्यवहार देखाउने बताएका छन् । यसमानेमा ओली केही अध्ययन नै नगरी बोल्छन् भन्नु पनि उचित छैन । उनमा पढ्ने, जान्ने, सिक्ने, खोज्ने, सक्रिय भइरहने प्रचूर प्रयास सराहनीय छ । तपाईंले सर्वोच्चताको नमुना दिइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेर्नुस्, कति लिंढेढिपी गरेर बोल्छन्, मिडियामाथि त आगो ओकल्छन् । अरु देशलाई होच्याउने उनको शैली कति भद्दा छ ? ट्रम्प ब्यापारी हुन्, पैसा बुझेका छन्, त्यसकै आडमा उनको हठले कसैलाई टेर्दैन । केपी ओलीलाई सन्काहा देख्नेहरुले उनीहरुकै आदर्श देश अमेरिकाको नेतृत्व हेरे पुग्छ । ट्रम्पको अकर्मण्यता र ढिला निर्णयले आज अमेरिका मानवीय, आर्थिक, सामरिक क्षेत्रमा दिन दुगुना, रात चौगुनाका दरले क्षति ब्यहोरिरहेछ ।

    \"\"

    बिदुर अधिकारी

    ओली भर्खर मृत्युलाई जितेर एक दिन पनि आराम नगरी फेरि काममै लागिपरेका छन्, त्यो देखेर जल्नुपर्दैन । बरु सिक्नुपर्छ कि हार तब हुन्छ जब मानसिकताले हार्छ । केपी ओली मानसिक कायर होइनन्, उनमा अरुभन्दा फरक हुन सक्नुको गौरव अवश्यै छ, त्यतिको बलियो आत्मबल भएको मान्छेले, मृत्यु देखेर जितेर आएको मान्छेले जुन सक्रियता देखाइरहेको छ, त्यसबाट रविन्द्र मिश्र, गगन थापा जस्ता आलाकाँचा ठिटाहरुले धेरै सिक्नुपर्छ । उनका धेरै कमीकमजोरी छन्, गर्छु भनेर हिजो जोतेका गफ जहीँका तहीँ छन्, उनकै वरिपरि भ्रष्टाचारीहरु संरक्षित छन् भनिन्छ । केहीलाई उनले काखी च्यापेरै हिँडेको जस्तो पनि देखिन्छ, त्यसको जवाफ जनताले दिन्छ, चुनावले दिन्छ । तर ओलीको ठाउँमा अहिले अर्को कुनै माइकालाल हुन्थ्यो भने पनि उनको जतिकै दृढतापूर्वक देशमा समयमै लकडाउन गर्नेदेखि कोरोना परीक्षणमा तिब्रता, होसियारी, सिमा छेकवार, आवश्यक क्वारेन्टाइन निर्माणमा चासो र तदारुकता देखाउन सक्दैनथ्यो । मिडियामार्फत् सरकारले जनतालाई गराइरहने अपडेट जानकारी आदि विकसित मुलुककै जत्तिको सक्रियता देखाउन सक्दैनथ्यो । अझ कहाली लागेर आउँछ यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री भएको भए देशको कुन हविगत हुँदो हो ?

    जे भइरहेको छ, त्यो पर्याप्त छैन होला, तर प्रयास प्रशंसनीय छ, हामी इटालीपट्टि फर्केर भन्दैछौँ, स्पेन, अमेरिका, बेलायत चीन र भारत नै समेत पट्टि पनि फर्केर भन्दैछौँ, हाम्रा बिरामी प्रधानमन्त्री जे गरिरहेका छन्, त्यो अर्को कोही माइकालालले गर्ने भन्दा उच्च तहको छ । गर्वका साथ भन्न सकिन्छ विश्वमा लाखौं मान्छेले ज्यान गुमाउँदा नेपालमा आजको दिनसम्म एक जना नमर्नु पशुपतिनाथको मात्र कृपाले सम्भव छैन ।

    ओलीले भनेझैं तातोपानी नै प्रयोग गर्ने हो, खिस्याउनु, गिज्याउनु पर्दैन, कि रविन्द्र मिश्रले कोरोना भ्याक्सिन बनाए ? यदि त्यसो हो भने ओलीको खिसिट्युरी गरौँ, नत्र अहिलेसम्म पत्ता लागेको उपाय भनेको तातोपानी पिउने, अदुवा बेसार हाम्रा पारम्परिक बिधि, हात धुने, सफासुग्घर रहने नै हो, कि गगन थापाले त्यसको बिकल्प पत्ता लगाए ? लगाएको भए बताउ न भाइ, विश्वलाई काम लाग्छ । होइन भने घाममा सुकाउ तिम्रा ट्याँउट्याउँ । रविन्द्र मिश्र, गगन थापाजस्ता ठिटा हो, यस्तो बेला सरकारलाई सहयोग गर । यो बेला सहयोग गर्ने, मनोबल बढाउने, रचनात्मक सुझाव दिने बेला हो । चुनावमा जनतालाई प्रभाव पार न भाइ, त्यो गर्न कसले रोक्छ ? 

    ( बेलायत बस्ने पत्रकार अधिकारीको फेसबुकमा राखिएको यो विचार सान्दर्भिक लागेर साभार गरिएको हो ।)
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार