काठमाडौं, ७ बैशाख । विश्व कोरोना महामारीसँग जुधिरहेको बेला नेपालका अरबपति ब्यापारी सुलभ अग्रवाल मेडिकल उपकरण थर्मोगन कालोबजारी गर्दागर्दै पक्राउ परे । उनलाई कालोबजारी ऐन अनुसार जिल्ला प्रशासन कार्यालयबाटै छुटकारा दिलाउन शक्तिकेन्द्रमार्फत् दबाब दिने क्रम जारी नै छ । कोरोना महामारीको उपचारका लागि उपयोग हुने थर्मोगनको कालोबजारी गर्दागर्दै पक्राउ परेका सुलभ अग्रवाल युनियन लाइफ इन्योरेन्स, जगदम्बा स्टील जस्ता करिब आधा दर्जन उद्योगका संचालक हुन् । तर, प्रतिष्ठित घरानाका रुपमा चिनिएको शंकर ग्रुपका संचालक सुलभ अग्रवाल यो महामारीमा कोरोना संक्रमितको उपचारका लागि सहयोग गर्नुपर्ने ठाउँमा उल्टै ३ हजार ५ सय रुपैयाँमा पाइने थर्मोगन १५ हजार रुपैयाँमा बिक्री गर्दागर्दै पक्राउ परे । त्यो पनि कुटनीतिक नियोगको गाडीमा ।
सुलभ अग्रवाल
एकातिर महामारीका बेलामा उनको हर्कत मानवताविरोधी त छँदैछ, अर्कोतिर कूटनीतिक नियोगलाई दिइएको सुविधाबापत पाएको निलो रङको नम्बर प्लेटमा कालोबजारीको सामान बिक्री गरेर देशको प्रतिष्ठामा आघात पार्ने काम भएको छ । त्यसकारण पनि उनलाई कालोबजारी ऐन अनुसार ५–१० लाख धरौटीमा छाड्नुहुन्न, मुलुकी अपराध संहिता अनुसार कम्तीमा ५ बर्ष कैद गर्नुपर्ने आवाज उठिरहेका छन् । मिडिया खबरदारी नभएको भए सायद उनी छुटिसकेका हुन्थे । तर खबरदारीकै कारण उनीमाथि म्यादथप गर्न सम्बन्धित निकाय बाध्य भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा जस्ता भएका भए उनको म्याद ७ दिन पनि थपिंदैनथ्यो होला । तर जनकराज दाहाल संकटको बेलामा कालोबजारी गर्नेहरुले उन्मुक्ति पाउनुहुन्न भन्ने पक्षपाती प्रशासक भएकाले कालोबजारी गर्ने शंकर ग्रुपको प्रभाव पार्ने प्रयास असफल भएको छ ।
उनीमाथि मुलुकी अपराध संहिता वा कालोबजारी ऐन अनुसार कारबाही हुने बहस चलिरहेको बेला राजस्व चुहावटमा पनि उनीमाथि छानबिन हुनुपर्ने धारणा एक सरकारी वकिलले सार्वजनिक गरेका छन् । उच्च अदालत पाटनका सरकारी वकिल चन्द्र सन्जेलले सुलभ अग्रवालले भन्सार नतिरी सामान ल्याएकाले राजस्व चुहावट ऐन अनुसार कारबाही हुनुपर्ने कुरा सामाजिक संजालमा लेखेका छन् । संजेलले लेखेका छन्–‘अग्रवाललाई भन्सार नतिरी गैरकानुनी तरिकाले सामान ल्याई राज्यलाई राजस्व छली गरेको तर्फ राजस्व चुहावट ऐन २०५२ बमोजिम समेत मुद्दा लगाउनुपर्ने हुँदा प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाउनुपर्छ । बुझाइएन भने नागरिकले छोड्ने छैनन् ।’
सुलभ अग्रवालले २० हजार थान थर्मल गन चीनबाट ल्याएका थिए । तर १२ सय थर्मल गनको मात्र भन्सार तिरेको पाइएको छ । यसरी भन्सारछली गरेर उनले ल्याएकाले राजस्व चुहावट ऐन अनुसार कारबाही हुनुपर्ने माग सरकारी वकिल संजेलले गरेका हुन् ।
राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा २३ अनुसाार राजस्व चुहावटको कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बरसम्म जरिवाना गरी कसूरको मात्रा हेरी तीन वर्षसम्म कैद हुनेछ ।