काठमाडौं, ७ बैशाख । तातोपानी नाकाबाट निजी क्षेत्रले आयात गरेको स्वस्थ्य सामाग्री भित्रिन सुरु भएको छ । नाकाबाट आसीयूमा प्रयोग गरिने उपकरण, पीपीई सेट र मास्क लगायतका स्वस्थ्य सामाग्री चीनतर्फबाट नेपाल भित्रिएका हुन
तातोपानी भन्सार कार्यालयका अनुसार नाका सञ्चालनमा आए यता आइतबारसम्म गरेर सात कन्टेनर स्वस्थ्य सामाग्री नेपाल भित्रिएको छ ।
भन्सार प्रमुख लालबहादुर खत्रीले तत्कालका लागि स्वस्थ्य सामाग्री मात्रै नाका भएर आयात भएको जानकारी दिए ।
कोरोना सर्तकता अपनाउँदै भन्सारले प्रथमिक चरणमा कारोबार गरिरहेको उनले बताए । हाल चीनीयाँ कन्टेनरले माल वस्तु ल्याएर नेपालतर्फको यार्डमा खन्याउने र त्यसलाई २४ घण्टा कोरिन्टाइनमा राखे पछि नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
तत्कालका लागि अत्यवश्यक खाद्यन्न र फलफूलको आयात पनि गर्ने गरी तयारी भईरहेको उनले बताए । चिनमा कोरोना संक्रमण देखिए पछि माघ १४ गते देखि बन्द भएको नाका चैत १२ गतेबाट औपचारिक रुपमा खुल्ला भएको थियो ।