Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै


    शुक्रबार, पुष २४ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइरसको अनुवांशिक अनुक्रमीय व्याख्या सर्वेक्षणका क्रममा यस्तो पाइएको छ । नेपालमा देखिएको कोरोना भाइरसको सम्भावित स्रोत भारत, साउदी अरेबिया, युरोप र संयुक्त राज्य अमेरिकामा भएको देखिएको छ ।

    अनुसन्धानमा सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको पाइएको छ । यस्तै देशभर ५९ दशमलव ३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसारको प्रयोग गरेको पाइएको छ । सर्वेक्षण गरिएका संक्रमितमध्ये ५८ दशमलव २ प्रतिशतमा होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको देखिएको छ ।

    यस्तै ५ दशमलव ६ प्रतिशतले आयुर्वेदिक उपचार र २९ दशमलव ६ प्रतिशतले आधुनिक औषधि उपचारको प्रयोग गरेको पाइएको थियो । अनुसन्धानका क्रममा लक्षणसहितका संक्रमितमा ज्वरो, खोकी, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेसी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी दुखाइ, जोर्नी दुख्ने र वाकवाकी रहेको देखिएको थियो ।

    अध्ययनमा सहभागी संक्रमितमध्ये ५२ दशमलव ५ प्रतिशतले परिवारसँग सामाजिक दूरी पूर्ण रूपमा र ३५ प्रतिशतले कहिलेकाहीँ सामाजिक दूरी कायम गरेकोसमेत पाइएको छ । संक्रमित भई उपचार गरिरहेकामध्ये ५९ दशमलव ३ प्रतिशतले घरेलु, ५ दशमलव ६ प्रतिशतले आयुर्वेदिक र २९ दशमलव ६ प्रतिशतले आधुनिक औषधि उपचार गरेको अध्ययनले देखाएको छ ।

    देशभर बिहीबार ४ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ ।

    बिहीबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको छ । हाल देशभर ३ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् ।

    बिहीबार देशभर ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ । देशभर हाल २ सय १६ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत् १ सय ८४ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा रहेका छन् । यो समाचार आजको राजधानीमा प्रशान्त वलीले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार