काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर दलालहरुले भिजिट भिसामा नेपाली युवाहरुलाई दैनिक बैदेशिक रोजगारीमा दुबई पठाउँदै आएका छन् । शनिबार साँझ र आइतबार पनि २ सयभन्दा बढी नेपाली युवा भिजिट भिसामा बैदेशिक रोजगारीका लागि दुवई उडेका छन् । आइतबार बिहान १० बजेको एयर अरबेयिाको विमानबाट १५७ जना नेपाली युवा भिजिट भिसामा बैदेशिक रोजगारीमा दुवई उडेका छन् । शनिबार साँझ नक्कली पीसीआर रिपोर्ट बनाएर दुवई जान लागेका ७ जना पनि भिजिट भिसामै जान लागेका थिए । पीसीआर रिपोर्ट नक्कली भएकाले उनीहरुलाई फर्काइएको थियो ।
अध्यागमन कार्यालयका कर्मचारी, म्यानपावर ब्यवसायी र दलालको सेटिङमा युवाहरु भिजिट भिसामा दुवई उडेका हुन् । विगत कात्तिकदेखि केही म्यानपावर, दलाल र अध्यागमनका कर्मचारीले दैनिक ५० जनाभन्दा बढी नेपालीलाई भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने गरेका छन् ।
प्रतिकामदार ६५ हजार घुस लिएर भिजिट भिसामा दुवई उडाउने गरिएको समाचार नेपालफेससहितका संचारमाध्यमले सार्वजनिक गरेपछि गृहमन्त्रालयले अंग्रेजी जानेको, एसएलसी पास गरेको र साथमा १ हजार अमेरिकी डलर बोकेको हुनुपर्ने मापदण्ड बनाएको प्रचार गरेको थियो । भिजिट भिसामा बैदेशिक रोजगराीमा पठाएको आरोपमा अध्यागमनका १५ अधिकृत गृहमन्त्रालयमा तानिए ।
अध्यागमनका कर्मचारीका लागि अंग्रेजी जानेको र एसएलसी पास गरेको हुनुपर्ने मापदण्ड थप घुस असुलीको माध्यम भयो । ६५ हजार रुपैयाँमा जाने गरेका युवाहरुलाई अग्रेजी जानेको बनाउन २० हजार र एसएलसी पास नगरेकालाई गरेको भनेर लेख्न थप २० हजार घुस अध्यागमनका कर्मचारीलाई बुझाउनुपर्ने भयो । स्रोतका अनुसार एक युवाले अध्यागमनमा मात्रै ९५ हजारा घुस भिजिट भिसामा जानका लागि बुझाउनुपर्ने भयो ।
भिजिट भिसामा जानेहरुले दलाललाई २ लाख रुपैयाँ बुझाउने र दलालले अध्यागमन सेटिङ गर्ने गरेको स्र्रोत बताउँछ । डलर अध्यागमनदेखि विमानको ढोकासम्म बोक्न दिने र विमानभित्र पसिसकेपछि दलालले फिर्ता गर्नेगरी तारतम्य मिलाएर भिजिट भिसामा कामदार दुबई पठाउने क्रम रोकिएन । अध्यागमनमा बरिष्ठ अध्यागमन अधिकृत सुशील बैद्यको नेतृत्वमा सेटिण्को कार्य हुँदैआएको छ ।