कञ्चनपुर, ६ बैशाख । कोरोना भाइरसको महामारीमा सबैभन्दा बढी महत्व मानवतालाई दिनुपर्ने हो । महामारीका कारण बाँचिने ग्यारेन्टी नभएको अवस्थामा पनि मानवताबिरोधी काममा मानिस संलग्न हुने गरेका छन् । कन्चनपुरमा यस्तै देखिएको छ । कोरोना संक्रमणको समयमा समान राहत वितरण गर्नुपर्ने अवस्थामा कञ्चनपुरको एक क्याम्पसका सहायक क्याम्पस प्रमुखले आफु नेकपा निकट अनेरास्ववियुको आग्रहमासो संगठनसंग आबद्ध रहेका विदार्थीलाई मात्र राहत वितरण गरेको आरोप छ ।
महेन्द्रनगर भीमदत्त नगरपालिका–१८ स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि सो क्याम्पसका सहायक क्याम्पस प्रमुख करनसिंह महतले ८ बोरा, चामल, २ बोरा दाल र ३० पाकेत तेल उपलब्ध गराएका हुन् ।
क्याम्पसकै लेटरप्याड दुरुपयोग गर्दै सहायक क्याम्पस प्रमुख महतले विद्यार्थी संगठनको आग्रहमा कोरोना भाइरसको कारणले समस्यामा परेका विद्यार्थीका लागि राहत उपलब्ध गराएको उल्लेख गरेका छन् ।
सो घटनाको त्रिवि प्राध्यापक संघले कडा आपत्ति जनाउँदै पार्टीका व्द्यिार्थी संगठनलाई मात्र राहत वितरण गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष वसन्त ढकालले विपत्तिको अवस्थामा क्याम्पसको लेटरप्याड प्रयोग गरी आफ्नो पार्टीको विद्यार्थीलाई मात्र राहत उपलब्ध गराउने काम गलत भएको आरोप लगाएका छन् । उनले सो घटनाको बारेमा त्रिविले तत्काल छानविन गर्नुपर्ने माग समेत गरेका छन् ।