Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालकको बीभत्स हत्या


    शनिबार, पुष १८ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • जनकपुरधाम । ‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए।

    दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छोरा गुमाएको शोकमा रामपुकारी लुडीबुडी गरिरहँदा उनलाई छिमेकी मञ्जुदेवी रायले सम्झाइरहेकी थिइन्, ‘जे नहुनु थियो भइसक्यो, अब के गर्ने ? कालले तिम्रो छोरालाई लिएर गइसक्यो, अब कहिले फर्किंदैन, धैर्य राख।’
    यो घटना हो धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार बिहान ९ बजेदेखि हराएका थिए। हत्या गरेर भंैसीगोठमा गाडेको अवस्थामा बिहीबार राति १० बजे उनको शव भेटियो।

    ‘हामीले बालकलाई सकुशल उद्धार गर्न हराएको थाहा पाएदेखि नै खोजिरह्यौं। जिल्लाका हरेक युनिट र सीमा सुरक्षामा खटिएको प्रहरीलाई फोटोसहितको सूचना प्रवाह गर्‍यौं’, सीमा प्रहरी चौकी दुहबीका प्रमुख हिलक सिंहले भने, ‘तर, बिहीबार राति १० बजे खोज्दै जाँदा घाँटी थिचेर हत्या गरी गाडेको अवस्थामा शव भेट्यौं।’

    सिंहले घटनाबारे बुधबार बेलुका जानकारी प्राप्त भएको उल्लेख गरे। ‘त्यसपछि शंकाका आधारमा खोजी गर्दै जाँदा बिहीबार अबेर राति ब्रह्मदेव राय अमातको घरमा भैंसी बाँध्ने गोठमा खाल्डो खनी पुरेर पराल ओछ्याई भैंसी बाँधेको अवस्थामा शव बरामद गरेका छौं’, उनले भने।  धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले रुपैयाँ लेनदेनका कारण नाबालक मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए। ‘खेल्दाखेल्दै प्रमिलाको घर पुगेको बच्चालाई चाउचाउ खान दिएर राखेको पायौं’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘चाउचाउ खाइसकेपछि बच्चाले प्रमिलालाई निद्रा लाग्यो सुत्छु भनेकोमा खाटमा सुताई, सुतिसकेको अवस्थामा घाँटी थिचेर हत्या गरेको देखियो।’

    बच्चाको घाँटी थिचेर हत्यापछि साँझको अँध्यारोमा शव उठाएर गोठमा लगी खाल्डो खनेर गाडेको र माथिबाट खरानी र पराल हाली भैसी बाँधेको अवस्थामा भेटिएको बस्नेतले बताए।  
     सीमा सुरक्षा प्रहरी चौकी दुहबीको टोली, जनप्रतिनिधि र स्थानीयले बुधबार रातभर बालकको खोजी गरेका थिए। अर्को दिन शंकाका आधारमा ब्रह्मदेव राय अमातको घरका पाँच सदस्यलाई बोलाएर अनुसन्धान गर्दा रहस्य बाहिर आएको हो।

    ब्रह्मदेवकी जेठी छोरी २६ वर्षीया प्रमिलादेवीले केही वर्षअघि रामपुकारीबाट १० हजार रुपैयाँ ऋण लिएको स्थानीयले बताएका छन्। तर, कति ऋण लिएको र त्यसलाई लिएर विवाद थियो कि थिएन भनेर प्रहरीले स्पष्ट खुलाएको छैन। प्रमिलादेवीले ‘रुपैयाँ लेनदेनका कारण रिसइबी बनाएको’ देखिएको भने प्रहरीले स्पष्ट पारेको छ।  

    ‘१० वर्षअघि लिएको पैसा दिन नसकेर हत्या गरेको हुनुपर्छ। यतिका दिनसम्म पनि किन पैसा नदिएको भनेर भन्दा रिसरागले मारेको हुनुपर्छ’, छिमेकी मञ्जुदेवीले भनिन्, ‘लिएको पैसा नतिर्ने र कसैको कोख उजारेर बदला लिएजस्तो भान हुन्छ।’ मृतकका बुवा जीवन वैदेशिक रोजगारीमा छन्।प्रहरी उपरीक्षक बस्नेत नेतृत्वको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान थालेको छ। अभियुक्त प्रमिलाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।
    घटनामा संलग्न हुन सक्ने आशंकामा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्र्रहरीले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा  गोविन्द महतोले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार