Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन अबधिभर इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन 


    शनिबार, बैशाख ६ २०७७
    710
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं,६ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभर इन्टरनेट सेवा सुचारु राख्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

    शुक्रबार विज्ञप्ति जारी गर्दै दूरसञ्चार प्राधिकरणले लकडाउनको अवधिभर इन्टरनेट सेवा नरोक्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो । प्राधिकरणले सम्भव भएसम्म अनलाइन भुक्तानी लिने व्यवस्था गर्न र अनलाइन भुक्तानी गर्न असमर्थ भएका ग्राहकको पनि इन्टरनेट सेवा लकडाउन अवधिभर निरन्तरता दिन निर्देशन दिएको छ ।

    अत्यावश्यक सेवाहरू सुचारु राख्नुपर्नेमा केही इन्टरनेट सेवा प्रदायकले समयमा महसुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको गुनासो प्राप्त भएको भन्दै प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध हुँदा आममानिसमा त्यसको नकारात्मक असर पर्ने जनाएको छ । प्राधिकरणले लकडाउनपछि लकडाउन अवधिभरको विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन पनि सबै सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

    शुल्क भुक्तानी नभए सेवा दिन सकिँदैन  आइस्पान
    इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान)का अध्यक्ष भोजराज भट्टले भने शुल्क भुक्तानी नभएसम्म सेवा प्रवाह गर्न नसकिने बताएका छन् । लकडाउनको अवधिमा इन्टरनेटको खपत झनै बढेको भन्दै उनले यस्तो वेलामा  सेवा प्रदायकलाई आर्थिक भार बढेको बताए ।

    दूरसञ्चार प्राधिकरणले सेवा सुचारु राख्न निर्देशन दिए पनि लकडाउनको अवधि कहिलेसम्म रहने भन्ने ठेगान नहुँदा आफूहरू थप समस्यामा रहेको उनले बताए ।

    सरकारले गत १६ चैतमा इन्टरनेट सेवा प्रदायकहरूलाई लकडाउन अवधिभरका लागि इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिन निर्देशन दिए पनि त्यसको कार्यान्वयन भएको छैन । त्यसैले दूरसञ्चार प्राधिकरणको निर्देशन पनि कार्यान्वयनमा आउने सम्भावना न्यून रहेको सेवाग्राहीको भनाइ छ । 

    नयाँ पत्रिकाबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार