काठमाडौं, ५ बैशाख । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकारले तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ ।
स्वास्थ्य सेवा विभागले बिहिबार तीन वटा कम्पनीसँग सामग्री खरिद गर्नको लागि सम्झौता गरेको हो । स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता भंग गरेपछि सरकारले उक्त सम्झौता गरेको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार विहीबार खरिद सम्झौता गरेका हुन् ।
कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी उक्त सम्झौता भएको हो ।
श्रेष्ठले सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको रहेको र सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेको उल्लेख गरेका छन ।
सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ । महानिर्देशक श्रेष्ठका अनुसार खरिद प्रकियामा चासो देखाएर पाँचवटा कम्पनी आएका थिए ।
निजी कम्पनीले पहिलो खेपमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउनेछन् ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार प्रयोगशालासम्बन्धी सामान खरिदका लागि शुक्रबार या शनिबार छुट्टै सम्झौता हुनेछ ।
सेनिटाइजर र आइआर थर्मोमिटर खरिदका लागि छुट्टै सम्झौता हुनेछ । उनले भने ‘अहिले यो साताभित्रमै करिब करिब १ लाख जति होल सेटमा पीपीई आउने हो ।’