Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा कोरोनाको कारण  थप १२ सयको मृत्यु


    शुक्रबार, बैशाख ५ २०७७
    605
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ५ बैशाख। चीनमा कोरोना भाइरसबाट थप एक हजार व्यक्तिको मृत्यु भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २९० जना थपिएको हो ।

     यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरु गणनामा छुटेका चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।

    वुहानले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै तीन हजार ८६९ पुर्‍याएको हो । समग्र संक्रमितको संख्यामा पनि उसले ३२५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या पनि ५० हजार ३३३ पुगेको छ ।

    यो संख्या चीनको समग्र संक्रमितको करिब दुईतिहाइ हो ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् । त्यतिबेला अस्पताल तथा मेडिकलहरुमा बिरामीको अत्यधिक चाप थियो । त्यसैले वास्तविक नतिजामा ढिलाइ, छुट्ने र गलत तथ्यांक दिने क्रम बढेको थियो ।

    अहिले सार्वजनिक गरिएको नयाँ तथ्यांक वुहानको महामारी नियन्त्रण तथा रोकथामको तथ्यांकमा जोडिएको छ । साथै दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको अधिकारीहरुले बताएका छन् । यसअघि अस्पतालमा भर्ना भएकाभन्दा बाहेकका बिरामीको मृत्युलाई भने समावेश गरिएको थिएन । साथै केही मेडिकल संस्थाहरुले संक्रमण पुष्टि तथा मृतकको तथ्यांक ढिलो बुझाएका थिए ।

    चीनले सार्वजनिक गरेको तथ्यांकमा विश्वभर आशंका उत्पन्न भइरहेको समयमा वुहानले आफ्नो तथ्यांकमा पुनरावलोकन गरेको हो । यसअघि चीनले वास्तविक मृतकको संख्या घटाएको आरोप लाग्दै आएको थियो 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार