Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रेड युनियनको आडमा सचिवलाई धम्क्याउँदै सरुवा रोके, ३ लाख घुससहित पक्राउ परे


    शनिबार, पुष २० २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । शिक्षकको पेन्सनपट्टा बनाउँदा घुसको दररेट तोकेर लिने गरेका शिक्षक कितावखाना ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाई यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइसकेका कर्मचारी हुन् ।

    राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसार्ईलाई शिक्षकको पेन्सन कागजात बनाउने क्रममा सेवाग्राहीसँग ३ लाख रकम घुस लिइसकेपछि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । प्रसाई बर्र्षौदेखि शिक्षक किताबखाना छाउनीमा कार्यरत थिए । उनको पटक–पटक सरुवा भए पनि एमालेनिकट निजामती कर्मचारी संगठनको आडमा उनी खटाएको ठाउँमा नगई कितावखानामै बस्ने र शिक्षकको पेन्सन बनाउँदा घु्स असुलीमा तल्लीन रहँदैआएका थिए ।

    पछिल्लो पटक उनलाई गएको असोजमा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा सरुवा भएको थियो । तर उनी सरुवा भएको कार्यालयमा नगई कितावखानामा बसी देशका ग्रामीण भेगबाट आउने शिक्षकको पेन्सन कागजात बनाउँदा घुस असुलीमा तल्लीन थिए ।

    कितावखानाबाट सरुवा भएपछि अधिकृत प्रसाईले शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेलाई धम्की नै दिएका थिए । आफूलाई कसैले चलाउन नसक्ने चुनौती दिंदै प्रसाईले सचिव काफ्लेकै सरुवा गरिदिने धम्की दिएर निजामती प्रशासनमै अराजकता प्रदर्शन गरेको शिक्षा मन्त्रालयका कर्मचारीहरु जानकार छन् ।

    एमालेनिकट ट्रेड युनियनको आडमा प्रसाईले सचिव काफ्लेलाई सरुवा गरेर देखाउन चुनौती दिएका थिए । पेन्सन बनाउँदा खुलेआम घुस मागेर देशभरबाट आएका अवकाशप्राप्त शिक्षकलाई दुःख दिने प्रसाई यो पटक मात्र होइन, यसअघि पनि एकपटक घुसकाण्डमा परी विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेर सेटिङमा सफाइ पाएर आएका कर्मचारी हुन् ।

    प्रसाईबिरुद्ध अख्तियारले २०७७ फागुन ५ गते पेन्सन कागजात बनाउने क्रममा सेवाग्राहीसँग ५२ हजार घुस लिएकोमा मुद्दा दायर गरेको थियो । तर सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अख्तियारले रंगेहात घुससहित पक्राउ गरेका ४ सय जनालाई उन्मुक्ति पाउने आदेश दिएका कारण उनी पुनः जागिरमा फर्किन पाएका थिए । भाइ प्रभुमार्फत् अख्तियारकै रकम घुस दिएर रंगेहात पक्राउ परेकाहरुबाट जनही दररेट असुली गरी उन्मुक्ति दिने आदेश भएको थियो । जुन आदेश निकै विवादमा परेको छ ।

    कितावखानाका हलुका सवारी चालक सुरेशप्रसाद नेपाल र क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपानेमार्फत् अधिकृत प्रसाईले घुस लिने गरेका थिए । अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने र बिदा र औषधि उपचारको रकम बढाइदिने भनेर उनले घुस असुली गर्ने गरेका थिए ।

    २०७७ फागुन ५ मा अधिकृत प्रसाईले ५२ हजार घुस पनि सवारीचालक नेपाल र क्यान्टिन संचालक न्यौपानेसँग लिएका थिए । जुन घुस प्रकरणमा प्रसाईलाई पनि अख्तियारले मुद्दा दायर गरेको थियो । एकपटक अख्तियारले घुससहित पक्राउ परेका उनी पुनः कितावखानामै गएर एमालेनिकट ट्रेड युनियनको आडमा सरुवा भएको कार्यालयमा नगई प्रत्येक शिक्षकसँग १ लाखदेखि ३ लाख घुस असुली गर्दै एमालेनिकट निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष केदारप्रसाद देवकोटादेखि एमाले नेताहरुलाई समेत दिएर उन्मुक्ति पाउँदैआएका थिए । पटक पटक घुससहित पक्राउ परेका अधिकृत प्रसाई एमालेनिकट निजामती कर्मचारी संगठनको शिक्षा विभागीय समितिका कोषाध्यक्षसमेत हुन् ।

    सचिवलाई धम्की दिने प्रसाई विशेष अदालतबाट मुद्दा जितेर पुनः शिक्षक कितावखानामै फिर्ता भएर दिन दुई गुणा रात चौगुणाका दरले घुस असुलीमा लागेका थिए । उनले शिक्षकको बिदा र औषधि उपचार खर्चको रकम तलमाथि गरिदिने गरी घुस लिने गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार