काठमाडौं, ५ बैशाख । महामारीमा मेडिकल उपकरण थर्मोगन कालोबजारी गर्ने शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई छुटाउन अनेक कसरत भइरहेका छन् । उनका भाइ साहिल अग्रवाल र बाबु शंकर गोल्यानदेखि चौधरी ग्रुपका विनोद चौधरी उनलाई छुटाउन कानुनका छिद्रछिद्र खोजीमा छन् । अग्रवाललाई कारबाहीबाट उन्मुक्ति दिलाउन सुरुदेखि नै उनीहरु मुद्दा कमजोर बनाउन लागेका थिए । मुद्दा कमजोर बनाउने र मुलुकी अपराध संहिता अनुसार अदालतमा मुद्दा दायर हुन नदिन साहिल अग्रवालले प्रधानमन्त्री केपी ओलीसम्मै पहुँच छ भन्ने विवादास्पद ब्यापारी कैलाशचन्द्र गोयललाई पनि परिचालन गरेका छन् ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा २० हजार थान थर्मल गन अग्रवालले भित्र्याएको तथ्य सार्वजनिक भइसकेको छ । तर प्रहरीबाटै यो तथ्य सार्वजनिक भएको भए पनि अग्रवाल पक्राउपछि १ हजार २ सय वटाको मात्रै लगत देखाइनु र कारबाहीको निम्ति अदालती प्रक्रियाबाट नगएर जिल्ला प्रशासन कार्यालयमार्फत् जानुले अग्रवाललाई कम सजाय गराउने प्रपञ्च छताछुल्ल भएको छ । अदालतबाट गए पाँच वर्षसम्मको जेल हुनसक्ने र प्रमुख जिल्ला अधिकारीबाट गए बढीमा एक वर्ष कैद सजाय हुने कानुनी व्यवस्थाका कारण अग्रवालमाथि सहानुभूति राख्ने काम गरिएको हो ।
सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले ‘स्टिङ अप्रेसन’ गरेको थियो । उनी पक्राउ परेपछि मात्रै सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिलका प्रवद्र्धक भएको रहस्य खुलेको थियो । सुलभ अग्रवाल भन्ने थाहा पाएपछि उनलाई बचाउन राजनीतिक कसरत शुरु भयो, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरु उनलाई बचाउन हात धोएरै लागेपछि कारबाहीको स्वरुप नै बदलियो ।
प्रहरीको ‘स्टिङ अप्रेसन’बाट पक्राउ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए कडा कारबाही हुन सक्थ्यो । तर, जिल्ला प्रशासन कार्यालयमार्फत कालोबजारीसम्बन्धी मुद्दा चलाएर उनलाई जोगाउन उच्च राजनीतिक एवम् व्यावसायिक दबाब परेकाले मुद्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ । उनलाई बैशाख २ गते पुनः ५ दिनको म्यादथप भएको छ । ५ दिन ७ गते पूरा हुँदैछ । संभवतः उनी ७ गते छुटाउनेगरी सबैतिर सेटिङ मिलाउने काम साहिल र कैलाशले मिलाइसकेका छन् ।
प्रहरी भ्यानको सिसासमेत तोडफोड गर्ने र मिडियामा समेत निक्कै चर्चामा आएको घटना भएकाले अग्रवाललाई मुक्त नगर्न नसके पनि कारबाही न्यून गराउने खेल भएको स्रोतको दाबी छ । उनलाई ५ दिन थुनामा राख्न म्यादथप त भएको छ, तर अब उनी छुट्दैछन्, स्रोतले भन्यो, २० हजार थान थर्मोगन कालोबजारीबाट उनले ३२ करोड भन्दा बढी कमाइसकेका छन् । २–४ करोड खर्च गरेर साहिल अग्रवालले उनलाई छुटाउने बन्दोबस्त मिलाइसकेका छन् । प्रतिष्ठित दाबी गर्ने शंकर ग्रुप अन्तर्गत युनियन इन्योरेन्स, जगदम्बा स्टील लगायतका उद्योग संचालित छन् । तर महामारीमा मेडिकल सामान कालोबजारी त्यो पनि कूटनीतिक उन्मुक्ति पाएको गाडीबाट गरेपछि उक्त ग्रुप १० बर्षमा कसरी अरबौं अरबका उद्योग खोल्न सफल भयो भन्ने पनि छताछुल्ल भएको छ ।
स्रोतले भन्यो– ‘महानगरीय अपराध महाशाखाले पक्राउ गरेका अग्रवाललाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । यसबीचमा ठूलो परिमाणमा थर्मल गन गायब बनाउनेदेखि मुद्दाको प्रकृतिमा समेत चलखेल भएको छ । जसका कारण अग्रवालमाथिको अनुसन्धान नै फितलो बन्दै गएको छ ।’ अग्रवालले बेपत्ता पारेको अन्य थर्मल गनकाबारे प्रहरी अझै बेखबर छ ।