Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउन लगत्तै एसईई परीक्षा हुनेः होम सेन्टर असम्भव


    बिहिबार, बैशाख ४ २०७७
    1.3K
    Shares
  • ३ मिनेट पाठ
  •  
    काठमाडौं, ३ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने तयारी गरेको छ । 

    कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले चैत ६ देखि हुनुपर्ने एसईई परीक्षा स्थगित गरेको थियो भने ११ र १२ को परीक्षा त लकडाउन सुरु भएकाले रोकिन पुगेको छ । एसईई, ११ र १२ कक्षाको परीक्षालाई थप व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने–जाने व्यवस्था गर्न केन्द्र थप गर्ने गृहकार्य थालेको हो ।

    होमसेन्टर हुन सक्छ कि सक्दैन भनेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास एकाइ र आफ्नो प्रदेश परीक्षा कार्यालयमार्फत् अध्ययन शुरू गरेको छ । 

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै त्यसअघि नै केही केन्द्र थप गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

    उनले भने, ‘होम सेन्टर नगरी एकै दिनमा परीक्षा दिएर फर्किने वातावरण बनाउन केन्द्र थप गर्न लागेका हौं ।’ उनले अगाडि भने– ‘होम सेन्टर सम्भव छैन, घर पायक केन्द्र बनाउन गृहकार्य गरिरहेका छौं ।’ बोर्डले एसईई र १२ को परीक्षा एकैदिन सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले बिहान एसईई र दिउँसो १२ को परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

    बोर्डले मंगलबार बोर्डका सदस्य, परीक्षा नियन्त्रक र केही उच्च अधिकारीसँग छलफल चलाएको थियो । सो क्रममा अधिकांशले होम सेन्टरभन्दा पनि पायक पर्ने विद्यालयमा केन्द्र कायम गर्न सुझाएका थिए । बोर्डका अध्यक्ष पौडेलले ११ हजार विद्यालयमा होम सेन्टर कायम गर्न नसकिने धारणा राखेका थिए ।
    ‘अहिले कायम गरिएकामध्ये केही थप गरी केन्द्र विस्तार गर्न सकिन्छ होम सेन्टर कायम गर्न सकिँदैन’ उनले भने ।
    निजी विद्यालयको संस्था प्याब्सनका अध्यक्ष टीकाराम पुरीले होमसेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसमक्ष आग्रह गरेको बताए । 

    यस वर्ष एसईई परीक्षामा करिब ५ लाख तथा १२ र ११ मा करिब ९ लाख गरी करिब १४ लाख विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कोरोनाको कारण चैत ६ गतेदेखि सबै परीक्षा स्थगित भएर पठनपाठनसमेत ठप्प भएको छ । बोर्डले कक्षा १० मा १ हजार १ सय ९५ तथा कक्षा १२ र ११ मा १ हजार १ सय ४६ परीक्षा केन्द्र कायम गरेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार