डोटी, ३ बैशाख । डोटीमा ६ गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन । जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरडीमा बुधबार बिहान से१च २३८८ नम्बारको कार दुर्घटना भएको हो ।
डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको कार दुर्घटनामा परेको प्रहरी चौकी गैराले जानकारी दिएको छ ।
घाइते हुनेमा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेका छन् । एलिजा थापा र मान्धरी थापाको अवस्था गम्भीर रहेको छ ।
घटनास्थलमा खटिएका प्रहरी हवल्दार शम्भुसिंह धामीले बिहान करिब ९ः४५ मा दुर्घटना भएको जानकारी दिए । कार सडकदेखि झण्डै पाँच सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा कारमा सवार गरिरहेका चालकसहित ६ जना सबै घाइते भएका छन् । चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित तीन जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सवारी पास दिएको पाइएको छ ।
कारमा दुई साना बालबालिका सवार रहेको र उनीहरु बारे पासमा खुलाइएको छैन ।
घाइतेहरुको उद्धार गरी उपचारका लागि कैलाली अत्तरियाको पद्मा अस्पताल पठाइएको छ ।