Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईजीपीको आफन्त भन्दै भैरहवामा डीएसपीको असुली आतंक, होटेल र क्यासिनो ब्यवसायी आतंकित


    बिहिबार, कार्तिक ८ २०८१
    5.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी लक्ष्मी खनालको असुली आतंकले स्थानीय व्यावसायिदेखि मातहतका प्रहरी कर्मचारी आजित भएका छन् । आर्थिक मामिलामा बदनाम भएर भदौ २५ मा अवकाश पाएका एआईजी श्यामलाल ज्ञवालीको भान्जी नाता पर्ने उनले अहिले आईजीपी बसन्तबहादुर कुँवरको नाम लिंदै व्यावसायीदेखि प्रहरी कर्मचारीहरुलाई तर्साउने गरेको एक स्थानीयले जानकारी दिए ।

    आईजीपी कुँवरकी श्रीमती लक्ष्मी पराजुली कुँवरको माइतीबाट नाता पर्ने डीएसपी खनालले आईजीपीका श्रीमान–श्रीमतीको नाम समेत नाम लिंदै असुली गरेको आरोप छ । उनले भर्खरै एउटा गाडी खरिद गरी बुटवलको सिद्धबाबामा पूजाआजा गरी चढ्दै आएकी छन् ।

    डीएसपी खनालले यतिसम्म आतंक मच्चाएकी छन् कि उनको असुली धन्दाले रुपन्देहीका एसपी रन्जितसिंह राठौर समेत आजित भएको बुझिएको छ । गत महिना भैरहवाको टाइगर प्यालेस होटेलको क्यासिनो र मणिग्रामको ड्रीमल्याण्ड क्यासिनो ब्यवस्थापनलाई तर्साएर मासिक रकम बुझाउन बाध्य गराएको एक व्यावसायीले जानकारी दिए । उनले नगदका अलावा टाइगर प्यालेस होटेल, ड्रीम इन्टरनेशनल होटेल, ड्रीमल्याण्ड रिसोर्ट, होटेल बोधी रेडसन, भैरहवा गार्डेन रिसोर्ट लगायतका तारे होटेलहरुलाई आफ्नो गेस्ट आइरहने हुनाले निःशुल्क रुम दिन दवाव दिने गरेको एक होटेल संचालकले जानकारी दिए । ‘हामीलाई नहेर्ने ? महिला डीएसपी भनेर हेपेको ? एसपीलाई मात्र बुझाएर हुन्छ ?’ भन्दै डीएसपी लक्ष्मी मेडमले थर्काउनुहुन्छ । सधैंभरी निशुल्क गरिदिन कहाँ सकिन्छ र ?’ एक होटेल संचालकले गुनासो पोखे ।

    डीएसपी खनालले आईजीपीको श्रीमतीको नातेदार भन्दै यतिसम्म गरेकी छन् कि बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपाने र वडा प्रहरी कार्यालय भैरहवाका इन्स्पेक्टर नेत्र बुढालाई रेडियो सेटमा कल गरेर आफूलाई फोन गर्न लगाएर तिमीहरुको एरियाको क्यासिनोवालाहरुलाई मसँग भेट्न पठाइदिनू, ट्वाइसी डीएसपीलाई नटेर्ने, महिला भनेर हेप्ने ? भनेको कुराले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हङ्गामा मच्चिएको थियो । रवि लामिछाने गृहमन्त्री भएपछि आफ्नै मामा श्यामलाल ज्ञवालीको सिफारिसमा बुटवलको सुप्रीम सहकारीको मुद्दा मिलाउने शर्तमा उनलाई सुटुक्क जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काज गरिएको थियो । यस अगाडिका सिनियर डिएसपी मनोहर भट्टको सरुवा भएपछि खनाल रुपन्देहीको सिनियर डीएसपी बनेकी छन् ।

    पछिल्लो समय उनलाई प्रशासन शाखा र प्रवक्ताको जिम्मेवारी दिइएपछि झन उनको असुली धन्दाले सिमा नाघेको छ । बोर्डरका पोस्टमा प्रहरी पठाउन खुल्ला खुल्ला बार्गेनिङ गर्ने गरेको आरोप उनीमाथी लागेको छ । सबैलाई चेन्ज गर्छु भनेर तर्साएपछी हिजोआज जिल्ला प्रहरी कार्यालयमा चौकीका इन्चार्ज हरुले लाइन लागेर नजराना बुझाइरहेको स्रोतले जानकारी दियो ।

    डीएसपी खनालको दरबन्दी प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षमा हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको एक दरबन्दीमा डीएसपी नवीन पौडेल कार्यरत छन् । डिएसपी खनालको असुली धन्दाले आजित भएका व्यावसायी र प्रहरी कर्मचारीहरुले गृहमन्त्रालयमा मौखिक गुनासो गरेपछि गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी कुवरलाई मन्त्रालयमै बोलाएर उनलाई तत्काल आफ्नो दरबन्दीमा फिर्ता गरेर छानबिन गरी दोषी देखिए कारबाही गर्न निर्देशन दिएको बुझिएको छ । उनी यसअघि साँखु प्रभागमा हुँदा पनि आर्थिक मामलामा कमजोर नै मानिएकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार