नयाँदिल्ली, ३ बैसाख । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भारतमा जारी लकडाउन लम्बिएपछि त्यसको अवज्ञा गर्दै मजदुरहरुले प्रदर्शन थालेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन बढाएपछि मुम्बई, सुरत जस्ता शहरमा हजारौं मजदुरले विरोध प्रदर्शन गर्दै लकडाउन उल्लंघन गरेका छन् । विभिन्न ठाउँबाट मुम्बई पुगेका मजदुरले बान्द्रा रेल स्टेसनमा घर फर्कन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सरकारलाई खाना नदिएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका छन् । मजदुरले खाना दिन वा घर जान दिन माग गरेका छन् ।
मोदीले अगामी साता पहिलेको भन्दा लकडाउन थप कडा हुने बताएपछि मजदुरहरूले सडकमा प्रदर्शन थालेका हुन् । लकडाउनको अवधि लम्बिएपछि भारतको विहार र उत्तर प्रदेशका विभिन्न क्वारेन्टाइनमा रहेका मजदुर बाहिर निस्किएर विरोधमा उत्रिएका छन् । अधिकांश मजदुर मंगलबार लकडाउन अन्त्य भएपछि घर फर्कने आशामा रहेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार मजदुरलाई लखेट्न प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रहरी अधिकारीका अनुसार उत्तर प्रदेश र पश्चिम बंगालबाट आएका हजारभन्दा बढी मजुदर प्रदर्शनमा सहभागी भएका छन् । भारतका विभिन्न शहरमा लकडाउनका कारण करिब १० करोड मजदुर अलपत्र परेको सञ्चारमाध्यमले जनाएका छन् । कपितय भने सयौं किलोमिटर हिंडेरै घर पुगेको जनाइएको छ ।