एजेन्सी, ३ बैशाख । कोरोना भाइरसको महामारीले विश्वका २ सय १० वटा देशलाई आक्रान्त बनाएको छ । चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखिएको कोभिड १९ को असर पछिल्लो समय अमेरिका र युरोपका केही देशमा बढी देखिन थालेको छ । चीनले भने २ महिनाको लकडाउनपछि संक्रमणलाई लगभग नियन्त्रणमा राखेको छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके, इरान लगायत देशमा हरेक दिन नयाँ संक्रमित भेटिएका छन् । यद्यपि चीनमा पनि नयाँ संक्रमित देखिन भने छाडेको छैन ।
सुरुका दिनमा खासै संक्रमित नदेखिएको चीनकै छिमेकी भारतमा पनि पछिल्लो समय संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । एक महिनाभित्रै भारतमा १० हजार भन्दा धेरै संक्रमित भइसकेका छन् । भारतमा ११ हजार ४ सय ८८ जना संक्रमित भएका छन् । त्यसमा १ हजार ३५९ निको भएका छन् । मृत्यु हुनेको ३ सय ९३ पुगेको छ । भारतमा रहेका नेपालीहरु लुकीछिपी हिड्दै राति नेपालका सीमा क्षेत्रबाट नेपाल प्रवेश गरेका छन् । भारतमा संक्रमितको संख्या बढेकाले नेपालमा पनि त्यसको असर परेको छ ।
उता युरोपका विकसित देशका लागि पनि महामारी ऐतिहासिक चुनौतीको रुपमा खडा भएको छ । विश्वका २ सय १० देशमा कोरोना भाइरसका कारण १९ लाख ४६ हजार ३ सय ८६ संक्रमित भइसकेका छन् ।
यस्तै मंगलबारसम्म १ लाख २६ हजार ६ सय ४ को मृत्यु भइसकेको छ । ४ लाख ६० हजार १ सय ११ जना भने उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५१ हजार ५८ जनाको अवस्था गम्भीर छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतका विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।
यसैबीच डब्लुएचओ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्न् ।डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।