काठमाडौं, १ बैशाख । विश्वका हरेक देश कोरोना रोगको महामारीविरुद्ध संयुक्त रुपमा लडिरहेका छन् । नेपालका विद्यार्थीको ठूलो संख्या अष्ट्रेलिया, यूरोपदेखि अमेरिकामा अध्ययनरत छ । कोरोना रोगको महामारीको चपेटामा परेका देशमा अध्ययनरत विद्यार्थीका बारेमा त्यहाँका सरकार प्रमुखहरुले बोलेका कुरालाई बुझ्दै नबुझी सार्वजनिक संचारमाध्यममा ल्याउने काम भइरहेकोमा अष्ट्रेलियन नेपाली जर्नलिष्ट एशोसिएसन (एन्जा)ले भत्सर्ना गरेको छ ।
एन्जाका अध्यक्ष हेमन्त काफ्ले र महासचिव चिरन्जीवी देवकोटाले आइतबार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ–विश्वका २ सय भन्दा बढी देशमा फैलिएको यो महामारीको सन्त्रासका बीचमा एक आपसमा सहयोग गर्दै, सहकार्यका माध्यमबाट कष्टकर र त्रासदीपूर्ण अवस्था अन्त्यका लागि हामी सबै क्रियाशील रहेको सर्वविदितै छ । यस्तो विषम परिस्थितिमा सरकारी निकाय, गैरसरकारी संस्थाहरु, सामाजिक संघ संस्था र सञ्चार जगतको भूमिका महत्वपूर्ण रहदै आएको छ । समाजका सबै तहको सहयोग र सहकार्यबाट मात्रै अहिलेको यो संकटबाट पार पाउनेछौं भन्ने कुरामा हामी सबै स्पष्ट छौं ।
पछिल्ला केही दिनदेखि मुख्यतः अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीका सन्दर्भमा दिएको अभिव्यक्ति पछि अष्ट्रेलियामा क्रियाशील रहेका र आफुलाई ठूलो सामाजिक संस्था दावी गर्ने संस्थाका जिम्मेवार पदाधिकारी, मूल नेतृत्व, पत्रकारहरुसँग निकट रही काम गर्नुपर्ने प्रवक्ता, केही शैक्षिक व्यवसायी लगायतका व्यक्तिहरुले विभिन्न माध्यमबाट गरेका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी जसले कागजी सम्झौता नै गरेर अस्ट्रेलियामा पढाई र अन्य खर्चको चाँजोपाँजो आफैंले गर्ने ग्यारेन्टी गरेका कारण अहिले प्रत्यक्ष सहुलियत दिने योजना नभएको अभिब्यक्ति दिएका थिए । सोही अभिब्यक्तिले नेपालमा र अष्ट्रेलियामै पनि एक किसिमको अन्यौलको अवस्था सिर्जना भएको सत्य हो ।