Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० लाख रकमको लोभमा भारत लगेर नेपाली युवाको मिर्गौला झिकेपछि …


    बुधबार, भाद्र १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं- मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्‍याएर मिर्गौला झिकेको तथ्य खुलेको छ।

    ३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्‍याएर उनको मिर्गौला झिकेको हो । मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन् ।

    ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन् ।

    खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी दिए ।

    रानाका अनुसार उनीहरूले आर्थिक अवस्था कमजोर भएका ती युवालाई मिर्गौला झिक्दा १० लाख रुपैयाँ कमाउन सकिन्छ भन्दै भारत पुर्‍याएका थिए ।

    ‘शरीरमा दुई वटा मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्छ, केही समस्या हुँदैन, मिर्गौला दिएमा धर्म हुन्छ भनेर फकाएका थिए,’ रानाले भने, ‘उता पुगेपछि जबरजस्ती झिकेको खुल्न आएको छ ।’

    ती व्यक्तिलाई स्वास्थ्य परीक्षण गराएर यकिन गरेपछि काठमाडौंबाट वीरगन्ज जाने सुमोमा चढाएर कलकत्ता पुर्‍याएको एसएसपी रानाले बताए ।

    कलकत्तामा पुर्‍याएर मिर्गौला झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गरेको खुल्न आएको प्रारम्भिक अनुसन्धानमा देखिएको राना बताउँछन् ।

    ‘त्यसो गर्दा मिर्गौला झिकिएका र प्रत्यारोपण गरिएका व्यक्ति एकाघर परिवारभित्रको व्यक्ति भन्ने विश्वास दिलाउन पीडितको नागरिकताको प्रमाण पत्रसमेत झुटो बनाएको खुलेको छ,’ रानाले भने ।

    पीडितलाई प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, नेपालबाट कलकत्ता पुर्‍याउने र रकम डिल गर्ने कामहरू फरक-फरक व्यक्तिले गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

    मिश्रका अनुसार पीडित नुवाकोट जिल्लाका हुन्। उनी काठमाडौंको मनमैजुमा सामान्य काम गरेर बस्दै आएका थिए। उनलाई पसलमा खाजा खाएको बखत सुरूमा घलानले फेला पारेर मिर्गौला बेचबिखनको प्रस्ताव गरेकी थिइन् ।

    ‘खाजा खाएको बेला एउटा मिर्गौला झिक्दा केही हुँदैन भनी घलानले प्रलोभनमा पारेकी थिइन्,’ मिश्रले भने, ‘पीडितलाई फकाएपछि खत्रीको सम्पर्कमा पुर्‍याएको देखिन्छ ।’

    पीडितबाट झिकिएको मिर्गौला प्रत्यारोपण खत्रीका आफन्तलाई गराइएको अनुसन्धानमा खुलेको छ ।

    गत फेब्रुअरी महिनामा ती पुरुषबाट मिर्गौला झिकिएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको मिश्र बताउँछन्। मिर्गौला झिक्नुअघि डराएर ती पुरुष नेपाल आएर एक-डेढ महिना बसेका थिए ।

    फेरि खत्री र घलानले फकाएर भारत पुर्‍याएको मिश्र बताउँछन्। ‘१० लाख दिन्छु भने पनि अहिलेसम्म उनलाई करिब तीन लाख रुपैयाँ मात्रै दिएको पत्ता लागेको छ,’ उनले भने ।

    मिर्गौला झिकेको लामो समयसम्म पूरै रकम नपाएपछि ती पुरुष प्रहरीको सम्पर्कमा पुगेका थिए। यो कार्यमा खत्री र घलानबाहेक संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    मंगलबार खत्री र घलानलाई जिल्ला अदालत काठमाडौंबाट ९ दिन हिरासतमा राख्न अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको ब्युरोका प्रहरी अधिकृत बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार