चन्द्रा खरेल / लुइभेल, केन्टकी
कोरोना भाइरस संक्रमित व्यक्तिहरुको उपचारमा म खटिएको २० दिन बितेछ । आज, यो उदास आइतवार (ग्लुमी सन्डे)मा म तपाइहरुसंग आफ्ना भावनाहरु बाँडिरहेकी छु । नेपालीले आफ्नो नयाँवर्ष उत्साहका साथ मनाउन पाएका छैनन् । विश्वभरका क्रिश्चियन समुदायले आफ्नो महान चाड इष्टर मनाउन चर्च जान पाएका छैनन् । लाखौं मानिस अहिले अस्पतालको बेडमा कोरोना भाइरसविरुद्ध संघर्ष गरिरहेका छन् ।
कोरोना संक्रमण भएपछि मरिन्छ कि बाँचिन्छ ? कसैले भन्न सक्दैन । हरेक दिन दशौं हजार मानिस मरिरहेका छन् । विश्वलाई कोरोना भाइरसको डढेलोले एकैसाथ डढाउंदै लगेको छ । चीनको वुहानमा कोरोना भाइरसका विरामी भेटिएको १०० दिन पार भइसकेको छ । सय दिनमा कोरोनाले विश्व यात्रा गरेको छ । विश्वव्यापी रुपमा १ लाख भन्दा वढी मानिस मरेका छन् । म बसोबास गर्ने देश अमेरिकामा त यो महामारीले पहिलो रेकर्ड नै बनाएको छ, जसले इतिहासमा पहिलो पटक ५० वटै राज्यहरुमा आगो सल्काएको छ । सर्वत्र एकैपटक आपतकाल घोषणा गर्नुपरेको छ । महामारीको कारण मान्छे नमरेको रेकर्ड बनाइरहेको वहमिंग राज्यले आफुलाई बचाउन सकेन, शनिवार त्यहाँ पनि एक जनाको निधन भएको छ ।
गएको हप्ता आफैंलाई विसन्चो भयो । म कार्यरत नर्टन अस्पतालले कोरोना भाइरस संक्रमण हो कि भनेर तत्काल जाँच गरायो । रिपोर्ट आउन झण्डै पाँच दिन लाग्यो । पाँच दिन झण्डै युगझै प्रतित भयो । धन्य रिपोर्ट नेगेटिभ आयो । अव भोलिवाट नियमित रुपमा कोरोना संक्रमित व्यक्तिहरुको उपचारमा खटिनेछु । अस्पतालमा भर्ना भएका अधिकांस विरामीहरु कोरोना संक्रमित मात्रै छन्, किनकी अन्य सर्जरीहरु तत्काललाई स्थगित गरेर पर सारिएको छ ।
यो महामारीको विरुद्धमा अग्रमोर्चामा रहेर स्क्रवधारी स्वास्थ्यकर्मीहरु युद्ध लडिरहेका छन् । युद्ध त स्क्रवधारीकोका मात्रै होइन, आम मानिसहरुको हो, तर युद्धको मोर्चा मात्रै स्क्रवधारीहरुले सम्हाल्नु परेको हो । युद्धमोर्चा सम्हाल्नु त्यति सहज छैन किनकी युद्धको लागि चाहिने सवैभन्दा ठुलो हतियार औषधि हामीसंग छैन । कल्पना गरौ, हतियारविना नै हामीले युद्ध लडिरहेका छौ र यो युद्ध पनि जित्नु छ । औषधिको आशा पनि नगरौ, औषधि तत्कालै वन्नेवाला छैन । चांडोभन्दा चांडो औषधि वन्दा पनि वर्षदिन वित्नेछ । अनुसन्धानहरुले अहिले प्रयोगमा आएका औषधिले नै काम दिने निश्कर्ष निकालेमा एक वर्षभित्रमा औषधि आउन सक्ला, यदि नयां औषधि नै वनाउनु पर्ने अवस्था आएमा त्यो समय अझै लम्विन सक्छ ।
कोरोना भाइरस संक्रमितहरुको उपचारमा जसरी रातदिन नभनी स्वास्थकर्मीहरु खटिरहेका छन्, त्यसैगरी हरेक देशका सरकार र स्थानीय अधिकारीहरु पनि खटिरहेका छन् । विश्वका अधिकांस ठुला शहरहरु अहिले लकडाउन वा स्टे एट होम अर्डरभित्र छन् जसले गर्दा मानिसहरुले पूर्ववत रुपमा आफ्ना अधिकारहरु उपभोग गर्न पाएका छैनन् । तर अहिले मूलतः कोरोना भाइरस संक्रमणले तीन वर्गलाई असर गरेको देख्छु । पहिलो त, जो संक्रमण भएका विरामी र उनका परिवार छन् । संक्रमित भएर अस्पताल गएपछि धेरै मानिसहरुको परिवारसंग भेटघाट समेत नभई मरिरहेका छन् । परिवारको सहभागिताविना नै अन्त्येष्टि भएको छ । कतिपय त सामुहिक चिहानमा पुरिएका छन्, उनीहरुका परिवारले मेरो आफन्त कहाँ पुरियो भन्ने जानकारी समेत नपाउने अवस्था छ । दोश्रो स्वास्थ्यकर्मीहरु छन्, जो डरको पर्वाह नगरी, आफु र आफ्नो परिवारलाई समेत जोखिममा राखेर निरन्तर कर्तव्यमा जुटेका छन् । तेश्रो संसारभर रहेका देशका सरकार र यसका अंगहरु हुन् जसले कोरोना विरुद्धको माहोल तयार गर्नु छ । जवसम्म समाजमा एकवाट अर्कोमा संक्रमण सर्ने अवस्था निरन्तर रहन्छ, जवसम्म एक देशवाट अर्को देशमा संक्रमण सर्ने अवस्था जारी रहन्छ, स्क्रवधारीहरुले यो युद्ध जित्न सक्दैनन् ।
स्क्रवधारीहरुले त्यो अवस्थामा मात्रै युद्धलाई जित्न सक्छन्, जहिले आम मानिसले यो रोगका संवाहक हामी हौं, हामी नै जोगिनुपर्छ भन्ने अनुभूति गर्न सक्छन् । यो समस्या केही सिमित उमेर समुहका व्यक्तिको समस्या हो, स्वास्थ्यकर्मीहरुको हो वा सरकार चलाउनेहरुको हो भन्ने अनुभूति मानिसहरुमा रह्यो भने, हामी युद्ध हार्छौ, कोरोनाले यो युद्ध जित्नेछ । म आममानिसहरुमा यो हाम्रो समस्या हो, हामी सवैले यसलाई मिलेर पराजित गर्नुपर्नेछ भन्ने भावना पलाउन जरुरी छ । हरेक देशका सरकार प्रमुखले यो विश्वभरको समस्या हो, विश्व एकठाउँ भिएर निराकरण खोज्नुपर्छ भन्ने सोच्नुपर्छ । कोरोना भाइरस संक्रमितहरुको सेवामा जुटेपछि आममानिसहरुको स्वास्थ्यकर्मीहरुप्रतिको व्यवहारमा दोहोरो मापदण्ड भेटें । धेरै चिनेजानेका मानिसहरु छेऊछाऊ नै पर्दैनन्, यद्यपि हामी स्वास्थ्यकर्मीहरु नै सामाजिक दुरी कायम गर्न सचेत छौं । यहाँको एक स्टोरमा एक स्क्रवधारी नर्समाथि दुव्र्यवहार भएको केही दिन अगाडि सुनें, नरमाइलो लागेको छ । घर वरिपरि अलिकति हिंडडुल गर्दा कोही पर देखियो भने तुरुन्तै हिंडिरहेको बाटो छाड्छन् र अर्को बाटो लिन्छन् । शायद आममानिसलाई लाग्दो हो, अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस पनि संगै वोकेर ल्याउँछन् । सचेत हुनु राम्रो हो तर स्वास्थ्यकर्मीहरुसंग आत्तिनु पर्ने अवस्था भने होइन ।
मैले नेपालका केही समाचारहरु पढें, जहाँ धेरै घरवेटीहरुले डाक्टर र नर्सहरुलाई डेरावाट निकाल्ने वा घरमा आउन नदिने काम गरिरहेका छन् । यो भन्दा अमानवीय कार्य के होला र ? तर अस्पतालमा जाँदा आममानिसहरुको स्वास्थ्यकर्मीप्रतिको व्यवहारमा युटर्न हुन्छ । संक्रमित भएर अस्पताल पुगेका मानिसहरु स्वास्थ्यकर्मीहरु नजिक आइदेऊन्, उपचार गरिदिऊन् भन्ने चाहन्छन् । कोरोना भाइरस संक्रमित धेरै मानिसहरुको अन्तिम अवस्थामा मद्दत गर्ने तिनै स्वास्थ्यकर्मीमात्रै हुन्छन् । म आम मानिसहरुलाई आग्रह गर्छु, आफ्नो जीवनलाई दाऊमा राखेर संक्रमितहरुको सेवा गरिरहेका स्वास्थ्यकर्मीहरुको भावनाको सम्मान गरिदिनुहोस् ।
धेरै स्वास्थ्यकर्मीहरु महिनौदेखि परिवारदेखि टाढा रहेर काममा डटेका छन् । म आफैंले पनि छोरोछोरीसंग नजिक परेर कुराकानी नगरेको २० दिन भयो । परिवारसंग संगै वसेर खाना खान पाएको छैन । छोराछोरीहरुको विद्यालय वन्द छ, यो वन्दमा उनीहरुलाई पढाउन पाएकी छैन । ममीसंग दुखसुखका कुरा गर्न पाएको छैन । बुबाको स्वास्थ्यस्थितिको वारेमा छलफल गर्न पाएको छैन । वेसमेन्टमा वसेर दिन वितिरहेका छन् । यो वीचमा आफ्नो समुदायका लागि केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्ना अनुभवहरु शेयर गर्न लाइभ आएँ । समुदायसंगका भर्चुअल डिस्कसनहरुमा सहभागी भएँ । रामायण हेरें । जो जो स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमित व्यक्तिहरुको उपचारमा खटिरहनु भएको छ, उहाँहरु लगातार परिवारसंग एउटा दुरी वनाएर बाँच्नुपर्ने अवस्था छ ।
अमेरिकामा ५ जना चिकित्सकहरु र दर्जनौं नर्सहरुले जीवन गुमाइसकेका छन् । जो तपाइहरुको लागि सेवामा खटिरहनु भएको छ, उहाँहरुको भावनाको सम्मान गरिरहनु भएको छ त ? धेरै अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) सकिंदै गएको छ । एन ९५ मास्क चाहिनुपर्ने अवस्थामा सर्जिकल मास्कले काम चलाइरहेका छन्, एउटै मास्क थुप्रै दिन प्रयोग गर्नुपर्ने अवस्था छ । अहिले अस्पतालहरुमा भेण्टिलेटर नपुगेका कुराहरुले प्राथमिकता पाएका छन् तर स्वास्थकर्मीहरुको जीवन जोगाउने कुरा कति भइरहेका छन् ? यसमा हामी कति गम्भीर भएका छौ ? अव कोरोनालाई हामीले जित्ने वा कोरोनाले हामीलाई जित्ने, निर्णय गर्ने जिम्मा आममानिसको नै हो, जो कोरोनाको संवाहक हुन् । सचेत भएमा कोरोनालाई जित्न सकिन्छ । तपाइहरु सचेत भइदिनुहोस्, स्क्रवधारीहरुले आफ्नो युद्ध जारी राख्नेछन् । हामी जित्नेछौं ।
( केन्टकी राज्यको लुइभेल शहरमा वस्ने नर्स खरेलको फेसवुकबाट)
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend