बीरगंज, ३० चैत । पर्साको बीरगंज महानगरपालिका, वडा नं २ छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट नै मस्जिदमा भेटिएका ३ जनामा कोरोना संक्रमण भएको पाइएको जानकारी दिइएको छ ।
कोरोना संक्रमितमा ३७, ५५ र ४४ बर्षका पुरुषहरू छन् ।
तीनैजनालाई शंका लागी नारायणी अस्पताल, बीरगंजमा आइसोलेशनमा राखी उनीहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटांैडाको ल्याबमा परीक्षण गरिएको थियो । परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजेटिभ देखिएपछि पुनः एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार पुनः परीक्षण गरिएको थियो । टेकू जनस्वास्थ्य प्रयोगशालाबाट समेत पोजेटिभ देखिएको हुँदा उनीहरुको संसर्ग र उनीहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म ९ जना कोरोना संक्रमित रहेकोमा बीरगंजका ३ मा देखिएपछि १२ जना पुगेका छन् । यद्यपि बीरगंजका कोरोना संक्रमित ३ जना नै भारतीय नागरिक भएको बताइएको छ ।
बीरगंजको मस्जिदमा भेटिएका तीनैजना कोरोना संक्रमित भारतीय नागरिक रहेको कुरामा भने मन्त्रालयले उल्लेख गरेको छैन । ती भारतीय भारतको दिल्लीमा तबलिगी जमातको कार्यक्रममा भाग लिन गएका र लकडाउनपछि लुकीछिपी नेपाल आएको र उनीहरुलाई पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले नै मन्दिरमा लुकाएर राखेको आरोप लागेको छ । मस्जिदबाट प्रहरीले उनीहरुसँगै बसेका २६ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।