Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीरगंजका मस्जिदबाट २६ जना पक्राउः कोरोना फैलाउन खोजेको आरोप


    आइतबार, चैत्र ३० २०७६
    795
    Shares
  • ३ मिनेट पाठ
  • वीरगन्ज, ३० चैत ।  नेपाल प्रहरीले वीरगन्जका मस्जिदबाट २६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तबलगी जमातले दिल्लीको निजामुद्दिन मस्जिदमा गएको फागुन २२ देखि ३० सम्म आयोजना गरेको धार्मिक भेला(मरकज)मा सहभागी भएका १९ जना भारतीय समेत छन् । त्यसबाहेक वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइबसेका ४ जना रहेका छन् ।

    उनीहरुलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् ।

    गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम नागरिकको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

    उनीहरुको स्वाब परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा पठाइएकोमा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणको लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

    अस्पतालको आइसोलेसनमा शुक्रबारदेखि राखिएका ३ जना भारतीय मुस्लिम जमाती , कोरोना संक्रमित भएको आशंका भएपछि प्रहरीले उनीहरु बस्दै आएको मस्जिदमा शनिबार साँझ पुगेर थप २६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

    केही दिनदेखि पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मिया मुखियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्र गरेको भन्दै भारतीय पक्षले मिडियाहरुले समाचार प्रसारण गर्दै आएका छन् ।
    भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले जालीम मिया मुखिया नामका व्यक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराएको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर प्रशारण गरेका छन् ।

    तर त्यसमा कुनै सत्यता नभएको र आफ्नो चरित्र हत्या गरेको भन्दै गाउँपालिका अध्यक्ष मियाले आरोपको खण्डन गरेका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार