बसन्त कुँवर
बिद्युत प्राधिकरणका कुलमान घिसिङका कामका कारण जलस्रोत मन्त्री हिरो हुने गरेका छन् । कुलमान घिसिङ हिरो भएका उनले लोडसेडिङ हटाएर हो । लोडसेडिङ हटाउन कुलमानले बिभिन्न उपाय अबलम्बन गर्ने नीति बनाए । तल्ला कर्मचारीहरुले ती नीति लागु गरे । तल्ला तहका कर्मचारीले सही प्रकारले त्यो नीति लागु गरिदिएका कारण समाजमा बिद्युत आपूर्ति राम्रो भयो । लोडसेडिङ हट्यो । कुलमान मात्र होइन ऊर्जा मन्त्री पनि हिरो भए । कुलमानलाई हिरो बनाउँदा मन्त्री र प्रधानमन्त्री पनि हिरो भए । कुलमानले तलका कर्मचारीलाई हिरो बनाउँदा उनी आफू पनि हिरो बने । हिरो हुन तलकालाई हिरो बनाउनुपर्दछ ।
प्रहरीमा हरेक अफिसरहरु आफूलाई राम्रो अफिसर हुँ भन्ने मान्दछन् । हिरो कहलिन चाहन्छन् । हिरो अर्थात् राम्रो काम गर्ने ब्यक्ति जसका कामले संगठन, समाज र देशलाई फाइदा पुगेको होस् ।
प्रहरीका आइजीपी साबहरु पनि हिरो हुन चाहन्छन् र प्रहरीले कतै ठूलै र राम्रा राम्रा काम गरेका भए आफैं प्रेस कन्फरेन्स गरी हिरो हुन खोज्दछन् । तर जसले त्यो राम्रो काम गरेका हुन्छन्, ती साना अफिसर चााहिँ एउटा कुनामा गुमनाम प्रकारले उभिइरहेका हुन्छन् । ती आइजीपी वा अन्य उच्चपदस्थ अधिकृतले त्यस बखत जसले त्यो राम्रो काम गरी उनीहरुको इज्जत बढाए, तिनका सम्बन्धमा भन्नुपर्दछ कि ‘यो काम सपन्न गर्ने अफिसर फलानो हुनुहुन्छ ।’ यति भन्ने मात्र होइन ती अफिसरलाई नै त्यही समारोहमा अगाडि ल्याई त्यो कामबारे बोल्न दिनुपर्दछ जस्ले गर्दा त्यस्तै काम गर्न अरु अफिसरहरुलाई पनि उत्साह बढोस् । । त्यस्ता काम गर्ने अफिसरहरुलाइ प्रेस कन्फरेन्स मा नै पुरस्कृत गर्नुपर्दछ ।
तर नेपाल प्रहरीमा मैले देंखे तल्ला कर्मचारीलाई हिरो नबनाई माथिल्ला अफिसर समाजमा आफूमात्र हिरो हुने प्रयास गर्दछन् तर कहिले हिरो बन्न सक्तैनन् । अझ उनीहरुले अर्को महागल्ती गर्दछन्, तल्ला कर्मचारीहरुलाई सानो गल्तीमा पनि ठुलो कारबाही गरेर । हामीले यो साल यतिको जागिर खायांै, यतिलाइ डिमोसन गर्यौ यतिको ग्रेडरोक्का गर्यौं भनेर प्रेस कन्फरेन्स गरी वा प्रेस मार्फत् सार्वजनिक गर्दछन् । यस्तो गल्तीले हिरो हुने होइन पूरै प्रहरी संगठन जिरो हुन्छ । प्रहरी संगठनले राम्रा र असल काम बाहिर लानुपर्दछ कमी कमजोडी भित्रभित्रै ठीक गर्नु पर्देछ । आफू हिरो हुन तल्लालाई कारबाही गरेको सार्वजनिक रुपले जानकारी गराउँदा पूरै संगठनलाई ठूलो आरोप लाग्नेछ । कति अफिसर आफू महाभ्रष्ट हुने र तलकालाई साना साना गल्तीमा पनी कारबाही गरी हिरो हुन प्रयास गर्दछन् । ती महामुर्ख हुन् । ती हिरो होइन जिरो हुन्छन् । तल्लो तहकालाई संजाय गरेर होइन तिनलाई हौसला दिएर उच्च अफिसर हिरो हुन सक्तछन् ।
म पनि सानै पदमा हुँदादेखि नै खुबै असल काम गर्दथें । ती काम ठूलो र गहिरो योजना गरी गर्थें । नेपालमा चेलीबेटी बेचबिखन चरम समस्यामा भएको बेलामा मैले श्रब्यदृश्य शाखाबाट त्यसलाइ रोक्ने महाअभियान चलाएँ । त्यसका लागि आफैं स्रोत जुटाएँ । मेरो कामको देशभरी चर्चा भयो । त्यसबखतका आइजीपी बोहरा सर र एआइजी ध्रुब प्रधान, खरेल साब लगायत धेरै उच्च अधिकृत हिरो बन्नुभयो । प्रेसमा छाउनु भयो । तर तिनले मलाई कहिल्यै एक ग्रेड पनि थपेनन् ।
बीबीसीबाट त्यस सम्बन्धी अन्तर्वार्ता लिन आउँदा अन्तर्वार्ता दिन र दिलाउन दिएनन् । उहाँहरु त्यो कार्यक्रमबाट आफू हिरो हुने भए भाषण गर्नुहुन्थ्यो तर तल्लो पदकाले यत्रो मेहनत गरेको छ भनी भन्नुहुन्नथ्यो । आइजीपी अच्युतकृष्ण खरेलले त यो महाअभियान नै ध्वस्त पार्नुभयो । यसको कल्पना र विकास गर्ने मलाई नै कार्यक्रमबाट हटाउनुभयो । मेरै सोचमा बनेको ‘आसरा’ केन्द्र पनि बन्द गर्न र मलाई २५ हजार रुपैयाँ गर्यो भनी छानबिन गराउनुभयो ।
तर खरेल साबले यो कुरा बुझ्नै भएन कि ती त्यसबखत इतिहासमा नेपाल प्रहरीले गरेको महान काम थिए । र, त्यस कामले स्वयम् खरेल साबलाई नै हिरो बनाइरहेको थियो । तर खरेल साबले यो कुरा बुझेनन् र ती कार्यक्रम ध्वस्त पार्ने पार्न प्रयास गरे जसका कारण हाम्रो कार्यक्रममा साधारण काम गर्ने माइती नेपाल जस्ता संस्था पो हिरो भए । प्रहरी यो काममा जिरो भयो । खरेल साबले मेरो ठाउँमा अर्को अफिसर राखे । खरेलले गरेको काम यस्तो थियो कि कुनै फुटबल खेलाडी घाइते भयो भने तिनको घर बसेको दाजुलाई त्यो स्थानमा खेल्न पठाउनु जस्तै । जस्लाई फुटबलबारे थाहा नै छैन । त्यस्तै भयो चेलीबेटी कार्यक्रममा पनि । खरेल साबले रोजेका अफिसरले त्यो काम गर्नै सकेनन् ।
मलाई खरेल साबले राजबिराज (सप्तरी) जबर्जस्ती पठाए । त्यहाँ पनि मैले खुब अध्ययन अनुसन्धान गरी काम गरें । अपराध पूर्ण नियन्त्रण गरें । त्यहाँ पनि १ सय १४ गाउँ विकास समितिमा जनताबाट म अभिनन्दित भएँ । मेरो अभिनन्दनको खबरले खरेल साबको सीर उच्च हुनुपर्ने थियो तर उहाँलाई त उल्टो फेरि टाउको दुखेछ र कसरी यत्रो अभिनन्दन हँ ? भनेर छानबिन गराउन पछि परेनन् । अचम्म, त्यो काम त म जस्ता उहाँकै तल्ला तहका प्रहरीले गरेका थिए नि ? यो काम पनि त उहाँ हिरो बन्ने नै काम थियो नि । मैले हेलीकोप्टरमा कमिसन खाने वा दुनै जस्तो आफू बसेको स्थानमा आक्रमण गर्न दिएको त थिइनँ । राम्रै काम गरेकाले अभिनन्दन पाएको थिएँ । फेरि किन टाउको दुखाइ ? हो साथी भरत जीसीले झैं उहाँलाइ मैले लाखौं रुपैयाँ दिन चाहिँ नसकेकै हो । त्यो चाहिँ मान्छु तर यसलाई आफूले गरेको गल्ती मान्दिनँ ।
आज खरेल साब पदमा हुनुहुन्न र उहाँलाई न समाजले चेलीबेटी बेचबिखन रोक्न ऐतिहासिक काम गर्ने आइजीपी मान्छ न ड्रग्स रोक्न योगदान दिने प्रहरी प्रमुख । रह्यो, शान्ति सुरक्षाको कुरो त्यसमा त पूर्णरुपमा असफल भई उहाँलाई दुनै आक्रमणपछि सरकारले हटाउने अवस्था आयो । शान्ति सुरक्षा कायम गर्न नसकेर बीचैमा हटाइएका पहिलो प्रहरी महानिरीक्षक सायद खरेल साब नै हुनुपर्दछ ।
वास्तवमा खरेल साबलाई खोस्ने हटाउने अवस्था दुनैमा लड्ने वा लड्नुपर्ने प्रहरीहरुको कमी कमजोरीले पनि आएको थियो । त्यस क्षेत्रका एसएसपी, डीआइजीको कमीकमजोरीका कारणले पनि आएको थियो तर बलीमा चढ्नुपर्यो खरेल साबलाई । कारण थियो खरेल साबले त्यो क्षत्रमा लड्ने जिम्मा दिएका कमाण्डरलाई हिरो बनाउन सक्नुभएन बरु माओवादी कमाण्डरले आफ्ना मातहतकालाई हिरो बनाए ।
खरेल साबले त त्यस्ता युद्ध गर्ने ठाउँमा म जस्तै गरी दपेटेका नरुचाएका अफिसरहरु पठाउनुहुन्थ्यो । आफ्ना गुटमा नभएकाहरुलाई संजाय दिन युद्धस्थलमा खटाउनुहुन्थ्यो र पैसा बुझाउने हिरोहरुलाइ अझ पैसा कमाउन काठमाडांैको केरकारबाट जिल्ला(हाल परिसर) सरुवा गर्नुहुन्थ्यो । हिरो जतिलाई यतै पैसा कमाउन राजधानीमा राखेपछि दुनै जस्ता स्थान कसरी सुरक्षित हुने ? खरेल साबले आफ्ना हिरोहरुलाई उपयोग गर्नै जान्नुभएन र अरुलाइ हिरो मान्नु नै भएन ।
आफू हिरो कहलाउन तलका कर्मचारीलाई हिरो बनाउनु पर्दछ । अप्रेसन स्थलमा खटिएकालाई त झन् बढी हिरो बनाउनुपर्दछ नत्र कमाण्डर नै हिरो होइन जिरो हुनेछन् ।
तल्ला कर्मचारीलाई हिरो नबनाई माथिल्लो कमाण्डर हिरो हुने कुनै चान्स नै छैन । यो कुरा मेरो जमानाका प्रहरी कमाण्डरहरुले बुझ्नु भएन । तलकालाई पेलेर आफू मात्र हिरो बन्न खोज्दा बिचरा उहाँहरु आफै जिरो हुन पुग्नुभयो ।
माथिल्लाले यसो गरें र उसो गरें भनेर फूर्ति लगाउने वास्तवमा तलकाहरुको कामबाटै हो । त्यसैले तलकालाई हिरो बनाउँ हामी माथिका आफै हिरो बन्नेछौं ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend