काठमाडौं, ३० चैत । कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन घोषणा गरिएको छ । नेपाल जस्तो स्वास्थ्य उपकरण सीमित भएको देशमा लकडाउन नै कोरोना महामारीसँग जुध्ने सर्वोत्तम विकल्प हो । देश कोरोना महामारीसँग जुझिरहेको बेला भारतका उद्योगी ब्यापारीले जस्तो सहयोग गर्नेभन्दा पनि ३ हजार ५ सयको थर्मोगन १६ हजारदेखि २२ हजारमा कालोबजारीमा बिक्री गर्दागर्दै नेपालका अगुवा भनिएका ब्यापारी नै पक्राउ पर्दछन् । नेपाल उद्योग परिसंघ(सीएनआई)का उपाध्यक्ष तथा शंकर ग्रुपका संचालक सुलभ अग्रवाल चैत २५ मा नक्सालबाट थर्मोगन कालोबजारी गर्दागर्दैै पक्राउ पक्राउ परे । किर्गिस्थानको अवैतनिक बाणिज्यदूत भएबापत राष्ट्रले सुविधामा दिएको निलो नम्बरप्लेटको कूटनीतिक गाडीमा थर्मोगन कालोबजारी गर्न ल्याउँदा उनी पक्राउ परेका थिए । उनले कालोबजारीमा थर्मोगन बिक्री गरिरहेको सूचना प्राप्त गरेपछि प्रहरी ग्राहकको भेषमा उनलाई नियन्त्रणमा लिन लागेको थियो । थर्मोगन कालोबजारी त्यो पनि अवैतनिक दूतको कूटनीतिक सुविधाको गाडीमा । यसले देशकै प्रतिष्ठा गिराउने काम गरेको थियो ।
अवैतनिक दूतका नाममा दिइएको सुविधा दुरुपयोग गरेर देशको प्रतिष्ठामा आँच पुर्याएपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चैत २६ मै त्यस्तो सुविधा तत्काल रोक्न निर्देशन दिए । र, परराष्ट्र मन्त्रालयले त्यो सुविधा रोकेको छ । तर यो सुविधा स्थगन होइन, खारेज नै गर्नुपर्ने आवाज उठिरहेको छ ।
नेपालले विभिन्न देशमा तोेकेका बाणिज्य दूतहरुले कुनै पनि सुविधा पाउँदैनन् । नेपालमा त्यस्ता दूतहरुले अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष, कूटनीतिक नम्बर प्लेट, सिंहदरबार प्रवेश र विशिष्ट भेटघाटमा समेत उपस्थितिलगायतका सुविधा पाउँदैआएका छन् । त्यही भएर बुल्गेरिया, चिली, इथोपिया, चेक रिपब्लिक, क्रोसिया, इष्टोनिया, कोलम्बिया, टर्की, बोस्निया हर्जगोभिनिया, युक्रेन, फिजी, गिनी, लाटिभिया, लिथुअनिया, पेरु, पपुवा न्यूगिनी, सोल्भाक रिपब्लिक, सोल्भानिया, माल्टा जस्ता देशको समेत दूत बनेर सुविधा लिने र सुलभले जस्तो गैरकानुनी काम गर्ने क्रम बढेको थियो ।

यही गाडीमा सुलभ अग्रवाल थर्मोगन कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए
एकै परिवारका ६ जनासम्मले बाणिज्यदूतका रुपमा कूटनीतिक ब्यक्तिले सरह सुविधा लिंदैआएका छन् । चौधरी ग्रुपका मालिक विनोद चौधरीको परिवारका ६ जना अवैतनिक दूत छन् । उनका भाइहरु वसन्तकुमार चौधरी मोरक्को र अरुणकुमार चौधरी हंगेरीका दूत हुन् । चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी सर्बियाका दूत हुन् भने माइला छोरा राहुल चौधरी माल्दिभ्सका दूत छन् । कान्छा छोरा बरुण चौधरी काजकिस्थानका हुन् । चौधरीका साला बिष्णुकुमार अग्रवाल चेक रिपब्लिकका दूत हुन् । यसअघि नेपालफेसले चौधरी ग्रुपका ५जना अवैतनिक दूत रहेको समाचार दिइसकेको छ । मोरङ अटो वक्र्सका संचालक अग्रवाल चौधरीका साला रहेको खुलेको छ ।
कालोबजारीमा पक्राउ परेका सुलभ अग्रवालका भाइ साहिल अग्रवाल पनि बोस्नियाँ हर्जगोभिनियाका दूत हुन् । उनी पनि निलो प्लेटको गाडीमा हिंड्ने गर्दछन् । अवैतनिक दूत भएपछि कूटनीतिक नियोगले प्रयोग गर्ने नम्बर प्लेटको गाडी प्रयोग गर्न पाउने र उक्त गाडी कहीँ पनि चेकजाँच नहुने भएकाले जे जस्ता कार्य गरे पनि उन्मुक्ति पाउँदैआएका थिए । यस्तो दुरुपयोग क्षणिक भने पनि रोकिन पुगेको छ । जुन कुरा परराष्ट्रमन्त्री ज्ञवालीले रोकेका छन् । यसरी नेपालसँग दौत्य वा ब्यापारिक कुनै पनि सम्बन्ध नभएका देशको दूत हुने र कूटनीतिक सुविधा उपयोग गरी गैरकानुनी काम गर्नेहरुको बारेमा अझै खोजी गरी उनीहरुको पद खारेजीमा सरकार लाग्नुपर्छ ।
भियना कन्भेन्सनले पनि अवैतनिक दूतलाई यस्तो सुविधा दिनुपर्छ भनेको छैन । तर नेपालमा भने यसअघिका हरेक सरकारका मन्त्रीहरुलाई प्रभावमा पारी दूत भएबापत निलो प्लेटको कूटनीतिक ब्यक्ति सरहको सुविधा लिने होडबाजी चल्दैआएको थियो । जुन सुविधाको यति दुरुपयोग बढिरहेको थियो कि त्यो सुलभ अग्रवाल प्रकरणमा आएर छताछुल्ल हुन पुग्यो । कुटनीतिक सुविधाको गाडी हुन्डीको कारोबार गर्नेदेखि तिब्बती ओसार्ने काम पनि दुरुपयोग भएका समाचार बारम्बार आइरहने गरेका थिए । तर सुलभ अग्रवाल प्रकरणमा कालोबजारीमा पनि यस्तो गाडी दुरुपयोग भएको पाइएपछि ५१ वटै देशको अवैतनिक दूतको त्यो सुविधा खोसेर परराष्ट्र मन्त्री ज्ञवालीले राम्रो काम गरेका छन् । जसको सबैले प्रशंसा गरेका छन् ।
यो पनि पढ्नुहोस्ः