काठमाडौँ, २९ चैत । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले डेरामा बस्दै आएका र आर्थिक अवस्था कमजोर भएको वडावासीलाई राहत वितरण गरेको छ । वडाले ११ र वडा कार्यालयमा ३ गरी १४ स्थानमा राहत वितरण गरेको छ । सो वडामा करिब १ हजार ५ सयले राहत पाएका थिए । वडा कार्यालयले बिहान ८ देखि १ बजेसम्म राहत वितरण गरेको हो ।
स्थानीय सरकारले लकडाउन भएको अवस्थामा मजदुरी र अन्य रोजगारी गर्न नपाएका परिवार लक्षित राहत कार्यक्रम ल्याएको थियो । ललितपुर महानगरपालिकाले सबै वडामा राहत वितरण गरिसकेको छ । वडाअध्यक्ष पुरुषोत्तम खड्काले कोरोना संक्रमणका कारण सरकारले देशभर लकडाउन गरेपछि घर टार्न समस्या भएका डेरावाल र केही स्थानीयलाई राहत वितरण गरेको बताउनुभयो ।
उहाँका अनुसार २ जनाको परिवारलाई ५ र सो भन्दा बढी संख्या भएको परिवारलाई १० किलो चामल, दाल, नून, तेल, सावुन र चिउरा वितरण गरिएको छ ।
वडाले नामसंकलन गरी घरबेटीको सिफारिसको आधारमा राहत वितरण गरेको हो । राहत लिन अनिवार्य रुपमा परिचय खुल्ने काजगात ल्याउनुपर्ने व्यवस्था गरेको थियो । सो वडाले मिलन वस्ती, नख्खु, कँुवर टोल, भञ्ज्याङ टोल, थापागाउँ, शान्ति मार्ग, सप्तऋषी मन्दिर, मगरगाउँ, घुमाउने, सिद्धिविनायक, आदिनाथ मार्ग र वडा कार्यालयका तीन स्थानमा राहत वितरण गरेको थियो । सो राहत एक हप्तासम्मको लागि पुग्नेगरी व्यवस्था गरेको वडाले जनाएको छ ।
वडाअध्यक्ष खड्का, वडा सदस्यहरु रुक्मिणी महर्जन, गोपाल डंगोल, रेश्मा थापा र राधिका रोक्का राहत वितरण केन्द्रमा पुगेका थिए । वडाले व्यवस्थित रुपमा राहत वितरण गरेको थियो ।
राहत बितरण थप व्यवस्थित गर्ने विषयमा बैठक बसेर निर्णय गरिने अध्यक्ष खड्काको भनाइ छ । सबैलाई राहत वितरण गरेको दाबी गरेतापनि केहीको नाम छुटेको छ । छुटेका डेरावालको विषयमा पुनः नाम दर्ता गर्ने तयारी भैरहेको अध्यक्ष खड्काको भनाइ छ ।