Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिका अध्यक्षमाथि भारतले लगायो संगीन आरोप


    शुक्रबार, चैत्र २८ २०७६
    820
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, २८ चैत । पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँ(मुखिया)लाई भारतीय प्रहरीले संगीन आरोप लगाएको छ । उनलाई कोरोना भाइरस फैलाउने योजना बनाएको आरोप लगाइएको छ । बिहारको पश्चिम चम्पारण, बेतिया जिल्लाका जिल्ला पदाधिकारीले बेतियाका पुलिस अधिक्षकलाई पठाइएको पत्रमा अध्यक्ष जालिम मुखियामाथि कोरोना भाइरस फैलाउन खोजेकाले नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन निर्देशन दिइएको छ । ४० देखि ५० जना कोरोना भाइरस संक्रमित मुसलमानलाई भारतमा पठाउन खोेजेको आरोप उनीमाथि लगाइएको छ ।

     अप्रिल ७ मा लेखिएको उक्त पत्रमा मियाँमाथि अवैध हतियार सप्लाई र नक्कली भारतीय नोटको कारोबारमा पनि संलग्न रहेको आरोप लगाइएको छ । पत्रकार प्रकाश तिमल्सिनाले भारतको बेतिया जिल्लाबाट जारी भनिएको उक्त पत्र सामाजिक संजालमा राखेका छन् । 

    भारतको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा फागुन २२ देखि ३० सम्म तबलिगी जमातले आयोजना गरेको धार्मिक भेला(मरकज)मा करिब १७ सय भेला भएपछि त्यहीँबाट कोरोना भाइरस संक्रमण फैलिएको भन्दै भारतभर उक्त जमातको चर्काे बिरोध भइरहेको छ । सरकारसँग अनुमति नलिई तबलिगी जमातले उक्त भेला आयोजना गरेको थियो । जुन भेलामा भारतका सबै राज्यबाट सहभागिता थियो भने नेपालका मुस्लिमहरु पनि सहभागी थिए ।

    तबलिगी जमातको उक्त कार्यक्रममा नेपालबाट करिब ४५ जनाभन्दा बढी सहभागी भएको अनुमान गरिएको छ । तिनीहरुमध्ये १४ जना लुकीछिपी नेपालतर्फ आइरहेको अवस्थामा चैत २२ मा भारतको उत्तरप्रदेशस्थित कुशीनगरमा पक्राउ परेका थिए । उनीहरुलाई भारतीय प्रहरीले क्वारेन्टाइनमा राखेको छ । तबलिगी जमातको उक्त भेलाकै कारण भारतमा कोरोना संक्रमण फैलिएको भन्दै जमातको बिरोध भइरहेको छ ।

    जामिल मियाँलाई पनि भारतले भारतमा कोरोना फैलाउन खोेजेको आरोप लगाएको छ । तर उनले कस कसलाई कहिले भारतमा पठाए, त्यसको जानकारी दिइएको छैन । जालिम मियाँ कांग्रेसबाट स्थानीय निर्वाचनको सम्मुखमा माओवादी केन्द्रमा प्रवेश गरी गाउँपालिका अध्यक्षको टिकट लिएका हुन् । उनको साविक माओवादी हाल नेकपाका शीर्षनेताहरुसँग पनि गहिरो सम्बन्ध रहेको पर्सा नेकपाका एक नेताले बताएका छन् । 

    १० अप्रिलको हिन्दूस्थान डटकमको हिन्दी संस्करणमा गुप्तेश्वर पाण्डेले जालिमले कोरोना भाइरस फैलाउने काम गरेको आरोप लगाउँदै समाचार लेखेका छन् । उनीमाथि कोरोना लागेका मुसलमानलाई लुकिछिपी बिहारमा पठाउने काम गरेको तथ्यहीन आरोप लगाइएको छ । पाण्डेले उनलाई तबलीगी जमातको नेटवर्क नेपालमा पनि रहेको र नेपाली मुसलमान पनि निजामुद्दीनस्थित जमातको मरकजमा सहभागी भएर निस्किएर नेपालमा गएका थिए । नेपालमा जानेमध्ये भारतीय पनि थिए । लकडाउन पछि उनीहरु नेपालमै फसेका थिए । उनीहरुमध्ये कतिपय कोरोना पोजेटिव भएको आशंका गरिएको समाचारमा उल्लेख छ । उनीहरुलाई जालिमले नै भारतीय सीमापार गराउन खोजेको आरोप लगाइएको छ । तबलिगी जमातको कार्यक्रममा नेपालबाट सहभागी भएको समाचार सार्वजनिक भएपनि अहिलेसम्म कोरोना पोेजेटिभ केस २ नम्बर प्रदेशका कुनै पनि जिल्लामा देखिएको छैन ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार