बागलुङ, २८ चैत । कोरोना भाइरसको महामारी रोक्न लकडाउन भएको बेला रुखबाट लडेका निसीखोला गाउँपालिका ५ का एक किशोरलाई नेपाली सेनाको शत्रुमर्दन गुल्मको टोलीले उद्दार गरी उपचारका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा लगेको छ ।
२०७६ चैत २७ गते जंगलमा घाँस काट्न गएको बेला निसीखोला ५ का नरबहादुर विकका छोरा चन्द्रलाल विक रुखबाट लडेर गम्भीर घाइते भएका थिए । १८ बर्षीय विकको कम्मर र टाउकोमा गम्भीर चोट लागेको थियो । लकडाउनका कारण स्वास्थ्य केन्द्र पु¥याउने उपाय केही नभएको अवस्थामा सेनाले तत्कालै उद्दार गरी उपचारका लागि स्वास्थ्य केन्द्रसम्म पु¥याएको छ ।
शत्रुमर्दन गुल्मका गुल्मपति केशरबहादुर बुढाथोकीका अनुसार रुखबाट लडेर अचेत भएका विकका आफन्तले अनुरोध गरेपछि कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी उच्च सतर्कताका साथ सहायक गुल्मपति नरेश अर्यालको कमाण्डमा उपचारका लागि उनलाई बुर्तिबाङ पु¥याइएको थियो । गुल्मकै गाडीमा राखेर घाइते विकलाई स्वास्थ्य केन्द्रमा पु¥याएको थियो । ढोरपाटन शिकार आरक्ष हेर्नेगरी राखिएको शत्रुमर्दन गुल्ममा कुनै पनि उपाय नभएपछि स्थानीयले सहयोग मागेका थिए ।