Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ दिनयता नयाँ सक्रमित भेटिएनन् , देशभर १२५ जना आइसोलेसनमा


    शुक्रबार, चैत्र २८ २०७६
    655
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २८ चैत । स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ६३० जनामा कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने,‘प्रयोगशाला परीक्षणमा आजसम्म तीन हजार ५२४ टेष्ट भएका छन्’, नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले भने, ‘नयाँ टेष्ट जम्मा ६३० जनाको भएको छ ।

    जसमा उपत्यकाका ४०१ र बाहिरका २२९ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’ अहिले परीक्षणको क्रममा रहेका नमुनाको संख्या आठ सय बढी रहेको डा. देवकोटाले जानकारी दिएका छन् ।

    प्रवक्ता देवकोटाका अनुसार अहिले देशभर क्वारेन्टाइनमा आठ हजार ६६० जना छन् भने आइसोलेसनमा १२५ जनाको उपचार भइराखेको छ । उपत्यकाभित्र आइसोलेसनमा १५ र बाहिर ११० जना रहेको देवकोटाले जानकारी दिएका छन् ।

    अहिलेसम्म ¥यापिड टेष्ट सबै प्रदेशमा पाँच हजारको दरले वितरण भएको छ । र्‍यापिड टेष्टमार्फत् कैलाली ३३९, कञ्चनपुर १३७, कपिलवस्तु २१, बागलुङ १९ जनामा भएको परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ ।

    शुक्रबारबाट प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर मेसिनबाट नमुना परीक्षण शुरु भएको छ । यो सँगै कोरोना परीक्षण उपत्यकासहित ११ स्थानमा शुरु भएको डा. देवकोटाले जानकारी दिए ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले बिहीबार डडेललधुराबाट १९९, बैतडी ४२५, कर्णली प्रदेशबाट ८५ गरेर ७०९ नमुना संकलन गरेको छ । त्यसको परीक्षणकार्य भइरहेको देवकोटाले बताए ।

    नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर डिस्चार्ज भएका छन् । अन्य आठमध्ये चार जनाको धनगढी, दुई–दुई जनाको टेकु र बागलुङमा उपचार भइराखेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो ६ दिनमा नेपालमा कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि शुरु भएको लकडाउनलाई पटक–पटक थप गरेर वैशाख ३ गतेसम्म पुर्‍याएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी नभएको जानकारी गराएको छ ।

    मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाल शुक्रबार नियमित पत्रकार सम्मेलन गर्दै चैत ११ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरेर कोषमा नराखिएको प्रष्ट पारेका हुन् ।

    सरकारले विभिन्न तहका कर्मचारीको तलब ३ देखि ७ दिनसम्मको कट्टी गरेर कोरोना कोषमा राख्ने निर्णय गरेको भए पनि स्वास्थ्य मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरेर कोषमा राख्न निर्देशन जारी नगरेको देवकोटाले बताए ।

    ‘स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी गरेका छैनौं । हालसम्म कट्टी गरिएको अवस्था पनि छैन’, डा. देवकोटाले भने, ‘सबैलाई उच्च मनोवलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपील गर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार