Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालोबजारीका ठूला माछा जालमा पार्ने प्रहरी कमाण्डर 


    शुक्रबार, चैत्र २८ २०७६
    2.3K
    Shares
  • ८ मिनेट पाठ
  •  

    काठमाडौं,  २८ चैत ।

    देश कोरोना भाइरस(कोभिड १९) सँग जुधिरहेको बेलामा मेडिकल सामग्रीको कालोबजारी भइरहेको सूचना पाएपछि अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा गम्भीर भए । शंकर ग्रुपका संचालक सुलभ अग्रवालले कोरोना भए नभएको ज्वरो नाप्ने थर्मोगन १६ हजार रुपैयाँमा बिक्री गरिरहेको सूचना थापाले कुनै माध्यमबाट आइतबार पाएका थिए । ३ हजार ५ सय रुपैयाँ पर्ने थर्मोगनको १६ हजार र ३ सयमा पाइने एन नाइन फाइभ मास्कको ९ सयसम्ममा बिक्री गरिरहेको सूचना उनले पाए । 

    नेपाल रेडक्रस सोसाइटीका एक पदाधिकारीले थर्मोगन खोजी गर्दै जाने क्रममा त्रिपुरेश्वका सर्जिकलहरु चाहारे । उनलाई कसैले त्रिपुरेश्वरको कृष्ण इन्टरप्राइजेजमा पाइन्छ भनेपछि उनी त्यस सर्जिकलमा पुगे । उक्त इन्टरप्राइजेजका संचालक सपना अग्रवाल र संजय अग्रवालले २२ हजारमा थर्मोगन उपलब्ध गराउनसक्ने बताए । ३ हजार ५ सयमा पाइने थर्मोगनलाई २२ हजार कसरी तिर्ने ? उनले यसो भन्दा अग्रवालले भनेका थिए रे ‘हामीले जगदम्बाबाट १६ हजारमा ल्याएको, त्यत्रो लगानी गरेपछि ६ हजार त मुनाफा खानुपर्यो नि ? ’ उनी पुनः विशाल सर्जिकलमा गए । बिशाल सर्जिकल कन्सर्नमा पनि पाइन्छ भनेर भनेका त्यहाँ गए । उक्त सर्जिकलका संचालक वाईबी भण्डारीले पनि २२ हजार तिर्ने भए उपलब्ध गराउन सक्ने बताए । उनी पुनः तिरुपति सर्जिकलमा गए, तिरुपतिले पनि कृष्ण र विशालकै जस्तो २२ हजार पर्ने कुरा सुनाए ।  

    \"\"

    सुलभ अग्रवाल र थर्मोगन बरामद गरिएको अवैतनिक दूतको निलो प्लेटको गाडी ।

     महामारीमा यस्तो लुट गर्न लागेकाले उनले असह्य भएर कुनै माध्यमबाट अपराध महाशाखाका प्रमुख एसएसपी थापाकोमा सूचना पुर्याए । त्यसो त अनेरास्ववियुका नेता समिक बडाल पनि आफ्नो जिल्ला काभ्रेका स्वास्थ्य संस्थामा थर्मोगन माग भएपछि खोजीमा निस्किए । उनलाई पनि बिशाल सर्जिकलले २२ हजारमा उपलब्ध गराउने भन्यो । उनले थर्मोगनको कालोबजारीको जरो पत्ता लगाउने क्रममा शंकर ग्रुपका संचालक नै सक्रिय रहेको भनेर आइतबार सामाजिक संजालमा नै लेखे । 

    स्वास्थ्य सामग्रीमा भइरहेको यो कालोबजारीको जरोसम्मै पुग्नुपर्ने निष्कर्षका साथ महाशाखा प्रमुख थापाले सक्रियता देखाए । उनले महाशाखाको टीमलाई शंकर ग्रुपका संचालक सुलभ अग्रवालको मोवाइल नम्बरमा ग्राहकको रुपमा थर्मोगन चाहिएको भनेर सम्पर्क गरी जालमा पार्न सकिने तरिका अपनाउन लगाए । टीमका एक सदस्यले ग्राहकको भेषमा आइतबार सुलभलाई सम्पर्क गरे । सुलभले आफूसँग १ सय पिसमात्र भएको र प्रतिपिस १६ हजार रुपैयाँमा दिन सकिने बताए । उनले थर्मोगनको कालोबजारी गर्दा आफूसँग १ सय पिस मात्र भएको भन्ने गरेका थिए । त्यही कुरा उनले ग्राहक बनेर फोन गरेका प्रहरीलाई पनि गरे । ग्राहक बनेका महाशाखाका प्रहरीले डेढ सय पीस चाहिएको बताए । उनी पहिला १ सय पिस मात्र छ भनिरहेका थिए । तर पछि १५ हजारका दरले १ सय ५० पीस नै दिन तयार भए । 

    अग्रवालसँग थर्मोगनको डिल त गर्यो, तर लकडाउनका कारण महाशाखाले आवश्यक रकम जुटाउन सकेन । अपराध महाशाखाले यस्तै कामका लागि राखिएको सो मनी पनि बैंकखातामा थियो । पैसा जुटाउन नसकेपछि आइतबार सामान लिन जान सकेन । चेकमा कारोबार गर्न अग्रवाल तयार नहुने पैसा कहीँबाट नजुटेपछि सोमबार पनि प्रहरीले एक्सन लिन सकेन । र, मंगलबार जसरी पनि पैसा जुटाएर कालाबजारीयालाई जालमा पार्न एसएसपी थापा लागे ।

    मंगलबार १० लाख नगद र ५ लाख रुपैयाँको चेक लिएर प्रहरी अग्रवालले दिएको लोकसनमा गए । पैसा बोकेर सादा पोशाकका प्रहरी सामान रिसिभ गर्न तयार भएर बसेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडीमा आएर थर्मोगन लिने ग्राहकको खोजी गर्न थाले । पैसा बोकेका ग्राहकले आफू नै हो भनेपछि अग्रवालले सो गाडीबाट सामान निकाले । तर चेक नलिने बरु १० लाखको मात्र ६६ थान थर्मोगन दिने भनेर निकाल्न थाले । उनले ६६ थान थर्मोगन निकाल्दानिकाल्दै प्रहरीले उनलाई नियन्त्रणमा लियो र सामान पनि बरामद गर्यो । प्रहरीको फन्दामा परेपछि उनले आफू कूटनीतिक नियोगको मानिस भएकाले पक्राउ गर्न नसक्ने भन्दै ध्वाँस दिए । एकछिन त प्रहरी अधिकारी अलमलमा परे । तर एसएसपी थापाले कूटनीतिक नियोगको गाडीमा कालोबजारीका सामान बोक्न पाइँदैन, त्यस्तालाई त झन् कडा कारबाही गर्नुपर्छ, जो भए पनि नछोड्नू भनेपछि उनलाई भ्यानमा कोचेर लगिएको थियो । नियन्त्रणमा लिइसकेपछि सुलभले बलजफ्ती गरी फुत्किन खोज्दा प्रहरी भ्यानको लुकिङ ग्लास नै फृुटेको थियो । 

    कालोबजारीमा मात्र कारबाही कि कूटनीतिक गाडी दुरुपयोगमा पनि ?

    किर्गिस्तानको अवैतनिक दूतका रुपमा २०९–एचसीसी–१ नम्बरको निलो रङको गाडीमा कालोबजारीको मेडिकल उपकरण बिक्री गर्दैगर्दा पक्राउ परेका हुन् अग्रवाल । अग्रवालले चीनबाट चैत २० गते ल्याएको २० टन थर्मोगन लगायतका उपकरण सोही गाडीबाट आधाभन्दा बढी बिक्री गरिसकेको एक सप्लायर्सले बताएका छन् । उनका भाइ साहिल अग्रवाल पनि बोस्निया हर्ज गोभिनियाका बाणिज्य दूत हुन् । अग्रवाल दाजुभाइ नै कूटनीतिक नम्बर प्लेटको गाडी दुरुपयोग गरी महामारीमा कमाउन मेडिकल सामग्रीको कालोबजारीमा संलग्न थिए । उनलाई बुधबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिनसम्म थुनामा राख्ने अनुमति प्रहरीले लिइसकेको छ । कालोबजारी ऐन अन्तर्गत उनलाई कारबाही हुनेछ । तर कूटनीतिक नम्बर प्लेटका गाडी दुरुपयोगमा पनि उनीबिरुद्ध कारबाही हुनुपर्छ, किनकि उनले उक्त सुविधाको दुरुपयोग गरेका छन् । 

    अवैतनिक बाणिज्यदूतको नाममा अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष, कूटनीतिक नम्बर प्लेट, सिंहदरबार प्रवेश र विशिष्ट भेटघाटमा समेत उपस्थिति जस्ता सुविधा लिएर दुरुपयोग गरेको गुनासो आए पनि पुष्टी नभएकाले त्यस्तो सुविधा परराष्ट्र मन्त्रालयले खोस्न सकेको थिएन । तर मंगलबार प्रहरीले किर्गिस्थानका दूत अग्रवाललाई त्यस्तो सुविधाको गाडीमा कालोबजारीका सामान बिक्री गर्दागर्दै पक्राउ गरेपछि परराष्ट्र मन्त्रालयले बुधबार उनीहरुलाई दिंदैआएको सुविधा तत्कालका लागि खोसेको छ । तर फेरि पनि सरकारले उनीहरुलाई दिनसक्ने संभावना ज्यूँका त्यूँ छ । प्रहरीको प्रयासले गर्दा अवैतनिक दूतका रुपमा सुविधा दुरुपयोग रोक्न परराष्ट्रलाई पनि सजिलो भयो । 

    अपराध अनुसन्धान महाशाखाका प्रमुख थापाले एकातिर महामारीको बेलामा मानवजातिको रक्षाका लागि प्रचलित मूल्यमै मेडिकल सामान दिने कर्तब्यबाट च्यूत भएका द्रब्यपिचास अग्रवाललाई कालोबजारी गर्दागर्दै पक्राउ गरेको छ । प्रहरीको यो कार्यलाई सबै नागरिकले सराहना गरेका छन् । अर्कोतिर एसएसपी थापाले अवैतनिक दूतका रुपमा कूटनीतिक सुविधाको कसरी दुरुपयोग भइरहेको छ भन्ने समेत उदांगो पारिदिएका छन् ।  

     
     नेपालले विभिन्न देशमा तोेकेका बाणिज्य दूतहरुले कुनै पनि सुविधा पाउँदैनन् । तर बुल्गेरिया, चिली, इथोपिया, चेक रिपब्लिक, क्रोसिया, इष्टोनिया, कोलम्बिया, टर्की, बोस्निया हर्जगोभिनिया, युक्रेन, फिजी, गिनी, लाटिभिया, लिथुअनिया, पेरु, पपुवा न्यूगिनी, सोल्भाक रिपब्लिक, सोल्भानिया, माल्टा जस्ता देशको समेत दूत बनेर सुविधा लिने र सुलभले जस्तो गैरकानुनी काम गर्ने क्रम बढेको थियो । यसरी एकै परिवारका ५ जनासम्मले बाणिज्यदूतका रुपमा कूटनीतिक ब्यक्तिले सरह सुविधा लिंदैआएका छन् । 

    अवैतनिक दूत भएपछि कूटनीतिक नियोगले प्रयोग गर्ने नम्बर प्लेटको गाडी प्रयोग गर्न पाउने र उक्त गाडी कहीँ पनि चेकजाँच नहुने भएकाले जे जस्ता कार्य गरे पनि उन्मुक्ति पाउँदैआएका थिए । यस्तो दुरुपयोग क्षणिक भने पनि रोकिन पुगेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार