Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ३१ हजार १ सय ८४ लाई राहत, विदेशबाट फर्किएका १ सय ३४ को विवरण संकलन 


    बिहिबार, चैत्र २७ २०७६
    745
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, २७ चैत ।

    काठमाडौँ महानगरपालिकाले चैत २६ सम्ममा ३१ हजार १ सय ८४ जनालाई राहत वितरण गरेको छ । राहत वितरणलगायतका विषयमा समिक्षा गर्न आज बसेको नगर कार्यपालिकाको चवालीसौँ बैठकमा पनि यो विषयमा जानकारी गराइएको थियो ।

     नगर कार्यपालिकाको त्रिचालीसौँ बैठकले कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहत वितरण मापदण्ड–२०७६ पारित गरेको थियो । त्योसँगै काठमाडौँ महानगपालिकाभित्र वसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई महानगरपालिकाले तिव्रता दिदैँ आएको थियो । 

    राहत वितरणसँगै १ मार्च २०२० (२०७६ फागुन १८) पछि विदेश भ्रमण गरी महानगरपालिका क्षेत्रभित्र वसोवास गर्दै आएकाहरुको विवरण संकलनलाई पनि महानगरपालिकाले तिव्रता दिदैँ आएको थियो । बैठकमा चैत २६ गतेसम्म काठमाडौँ महानगरपालिकाले यसरी बसोवास गर्दै आएका १ सय ३४ जनाको विवरण संकलन गरेको लगायतका विषयमा पनि जानकारी गराइएको थियो । 

    बुधबारसम्मको तथ्याङ्क अनुसार वडा–३१ ले सबै भन्दा बढी अर्थात् ३ हजार ८ सयलाई राहत वितरण गरेको छ । त्यसैगरी वडा–७ २ हजार ३ सय ९६ लाई राहत वितरण गरेको छ । वडा–१० ले पनि २ हजार २० लाई राहत वितरण गरेको छ भने वडा–१६ ले १७ सय १९ लाई राहत वितरण गरेको छ । वडा–१५ ले १५ सय २० र वडा–६ ले १४ सय ७६ लाई वितरण गरेको छ । 

     काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अहिलेसम्म भएको राहत वितरणलगायतका विषयमा समीक्षा गर्न बैठक बसेको जानकारी दिनुभयो । ‘अहिलेसम्म राहत वितरणमा भएका कमी–कमजोरी, राहत वितरणका क्रममा देखिएका समस्यालगायतका विषयमा छलफल गर्न बैठक बोलाइको हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘राहत वितरणलाई अझ प्रभावकारी बनाउन के–गर्नुपर्ला भन्ने विषयमा पनि छलफल भयो । महानगरपालिका आगामी दिनमा कोरोना संक्रमण फैलिन नदिन अझ प्रभावकारी ढंगले अघि बढ्छ ।’ 

    पछिल्लो तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकाले ३७ हजार ७ सय ९० जनालाई राहत वितरण गर्नुपर्ने भनी पहिचान गरेको छ ।  २४ हजार ३ सय १९ जनालाई आफ्नै स्रोतबाट राहत वितरण गरेको छ भने विभिन्न स्रोतबाट ६ हजार ८ सय ६५ जनालाई वितरण गरेको छ । काठमाडौँ महानगरपालिकाले राहत वितरणलाई एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेसँगै विभिन्न संघ–संस्थाले पनि जुन वडामा राहत वितरण गर्ने हो त्यहिका जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै वितरण गर्दै आएको महानगपालिकाले जानकारी दिएको छ । ‘हामीले  रातह वितरणलाई एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेसँगै विभिन्न संघ–संस्थाले पनि जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै वितरण गर्नुभएको जानकारी प्राप्त भएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘यसले राहत भन्दा प्रचार बढी गर्ने कुरामा कमी आएको छ ।’ 

    उहाँले प्रचारका लागि नभई भावनाले नै प्रेरित भएर आ–आफ्नो ठाउँबाट राहत वितरणलगायका काममा लाग्न पनि सबैलाई आग्रह गर्नुभयो । ‘यो विपद्को बेलामा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ,’ ‘प्रमुख शाक्यले भन्नुभयो, ‘सकेसम्म पाउनु पर्ने व्यक्तिले मात्रै राहत पाउन भनेर काठमाडौँ महानगरपालिकाले सबैसँग समन्वय गरेर काम गरिरहेको छ ।’  

    त्यसो त महानगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरेका कारण संघीय सांसद, प्रदेश सांसदले पनि समन्वय गरेर नै वितरण गर्ने गरेका छन् । केही दिनअघि मात्रै वडा–२९ ले राहत वितरण गरेको थियो । कालिञ्चोक मार्ग, रुद्रमती मार्ग, सहयोग मार्गलगायतका ठाउँमा रहेका अति बिपन्न, असहाय र दैनिक ज्यालामजदुरी गरेर खानेहरुलाई गरिएको राहत वितरण कार्यक्रममा संघीय सांसद एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि सहभागी हुनुभएको थियो ।

    अन्य वडाहरुमा गरिएको राहत वितरण कार्यक्रममा पनि संघ र प्रदेशका सांसदहरु सहभागी हुने गरेको महानगपालिकाले जानकारी दिएको छ । कालीमाटीलगायतका क्षेत्रमा गरिएको राहत वितरण कार्यक्रमा संघीय सांसद जीवनराम श्रेष्ठ, प्रदेश सांसद राजेश शाक्यलगायत पनि सहभागी हुनुभएको थियो । त्यसैगरी प्रदेश सांसदहरु नारायण सिलवाल, गणेश दुलाललगायत पनि आफु निर्वाचित भएको क्षेत्रका वडामा गरिएको राहत वितरण कार्यक्रममा सहभागी हुने गर्नुभएको छ । 
    राहत वितरण व्यवस्थापनबारे बुझ्न प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) मात्रै होइन  काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत पनि पुग्ने गर्नुभएको छ । मंगलबार वडा ३१ ले जागृतिनगरमा राहत वितरण गरेको थियो । त्यहाँ अर्याल र दाहाल दुबै जना पुग्नुभएको थियो । राहत वितरणपछि अर्यालले  मापदण्डबमोजिम राहत प्राप्त गरे नगरेको, राहत वितरण गर्दा सामाजिक दूरी कायम भए नभएको, खाद्य सामग्रीको प्याकेट र परिमाण, ढुवानी र वितरणको व्यवस्थापन, अभिलेख राख्ने बिधि, दाताबाट प्राप्त राहतको वितरण व्यवस्थापनजस्ता पक्ष निरीक्षणका क्रममा हेरिएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार