Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • तोकियो नेकपाको स्थायी र केन्द्रीय कमिटी बैठकको मिति, ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने


    बुधबार, मंसिर ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी र केन्द्रीय कमिटीको मिति तोकिएको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी मंसिर १३ मा सचिवालय बैठक बस्ने निर्णय गर्नुको साथ १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटीको बैठकको मिति समेत तोकेको हो । 

    सचिवालय बैठकले पार्टीको स्थायी समिति र केन्द्रीय समितिबाट ठोस निर्णय गर्ने बाटो खुलेको छ । पार्टीमा प्रम ओलीले राजीनामा दिनुपर्ने पक्षमा बहुमत सचिवालय सदस्य छन् ।

    नेकपाको सचिवालयका ५ सदस्यले निर्णय गरी आजको बैठक राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म सचिवालय बैठकमा भाग नलिने अडान राखिरहेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको सचिवालय बैठकमा सहभागी भएका छन् । र, अर्को बैठक १० दिनपछि राख्ने निर्णय गरी सम्पन्न भएको छ । सचिवालय बैठकपछि १० दिनसम्मका लागि नेकपाको विभाजन टरेको छ ।

    चिनियाँ राजदूत होउ यान्छीले मंगलबार प्रधानमन्त्री र बुधबार बिहान राष्ट्रपतिसहितका नेताहरुलाई भेटेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा जान बाध्य भएको चर्चा राजनीतिक वृत्तमा छ । 

    यस्तैगरी अबको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । सोहीकारण अर्को बैठक १० दिन पर धकेलिएको हो । यसअघि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावको विरोधमा मात्र समय खर्चेका प्रम ओलीले आफ्नो छुट्टै प्रतिवेदन पेस गर्ने भएका हुन् । 

    प्रम ओलीले पेस गर्ने प्रस्तावलाई समेत ध्यान दिँदै अबको सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । अब बस्ने सचिवालय बैठकमा ओली र प्रचण्ड दुवैको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार