Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शक्तिशाली सुब्बा ९ महिनामै उद्योग विभाग फिर्ता

    ‘भेना’ मन्त्री र सचिव दाहिना हुँदा गौतमको साथ


    शनिबार, फाल्गुन १२ २०८०
    2.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । कर्मचारीको सरुवा सामान्यतया २ बर्षमा हुने प्रावधान छ । तर उक्त प्रावधान उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई देखाउने दाँतमात्र हुँदैआएको छ । सहसचिव बाबुराम गौतमले आफैंले हटाएको कर्मचारीलाई आफैं कर्मचारी प्रशासन महाशाखाको प्रमुख भएपछि अवधि नपुग्दै पुरानै कार्यालयमा सरुवा गरेका छन् ।

    नायबसुब्बा उदय पौडेललाई सहसचिव गौतमले उद्योग विभागमा सरुवा गरेर पुरस्कृत गरेका छन् । गौतम उद्योग विभागको महानिर्देशक भएपछि करिब ९ महिनाअघि पौडेल ट्रेडमार्क शाखामा कार्यरत थिए । पौडेलका बारेमा अनेकथरी प्रश्न उठेपछि गौतमले मन्त्रालयमा अनुरोध गरी सरुवा गराएका थिए ।

    गौतमले महानिर्देशकको बहाली गरेको भोलिपल्ट विभागको हलमा राखेको परिचयात्मक कार्यक्रममा सबैले आ आफ्नो परिचय दिंदै कार्यरत पद र कामका बारेमा संक्षिप्त ब्रिफिङ गर्ने काम भयो । उक्त कार्यक्रम सकिएपछि जुरुक्क उठेर पौडेलले भनेका थिए–‘कोही भने २ बर्षसम्म कमाउने शाखामै बसिरहन पाउने, आफू भने डेढ बर्षदेखि ट्रेडमार्क शाखामै थन्किनुपर्ने ? यो कस्तो न्याय हो ?

    महानिर्देशकले यसमा बिचार पुर्याउनुपर्छ ।’ पौडेलको भनाइप्रति तत्काल केही प्रतिक्रिया नजनाए पनि बडी ल्याङ्वेजबाट असन्तुष्ट देखिएका गौतमले एक सातामै उनलाई मन्त्रालयमा सरुवा गरिदिए ।
    ट्रेडमार्क शाखामा हुँदा पनि ब्यवसायीलाई अचाक्ली दुःख दिने र महंगो असुलीधन्दाको अभियान नै चलाएका पौडेलको गतिबिधिका बारेमा उद्योगीहरुले मन्त्रालयमा समेत गुनासो पुर्याएका थिए । तर तत्कालीन नेतृत्वले उनको गुनासोलाई सुनुवाइ नै गरेन । सेवाग्राहीबीच मात्र होइन, कर्मचारीमाझ पनि अलोकप्रिय बनेका उनै पौडेल विभागमा सरुवा भएपछि अहिले विभागमा हल्लीखल्ली मच्चिएको छ ।

    कर्मचारी प्रशासनमा कसिला देखिंदै उनै बाबुरामले कसरी आफैंले अयोग्य भनेर विगतमा सरुवा गरेका पौडेललाई मन्त्रालयमा जानासाथ कसरी योग्य देखे ? गम्भीर प्रश्न खडा भएको छ । मन्त्रालयमा सरुवा हुनासाथ मन्त्री रमेश रिजाललाई भिनाजुको नाता लगाउँदै भेट हुनासाथ हातमा निधार लगेर ढोग्ने उनै पौडेललाई स्टोरको जिम्मा दिइएको थियो । मन्त्रालयको स्टोर सम्हालेपछि महाशाखा प्रमुखदेखि लिएर मन्त्री सचिवका आज्ञालाई समेत तोड्दैआएका पौडेलले हरेक कुरामा भाँजो हाल्न थालेपछि उनलाई हटाउनै पर्ने अवस्था सृजना भयो ।

    कर्मचारी प्रशासन महाशाखाले स्टोर समेत हेर्दैआएको र सो भूमिकामा उनै बाबुराम गौतम छन् । पौडेलको विगतका बारेमा जानकार सहसचिव गौतम उनलाई कारबाहीस्वरुप उद्योग विभागमा सरुवा गरेको बताउने गरेका छन् । ९ महिनामै पुनः विभाग फर्किन सफल भएका नासु पौडेललाई पठाउनका लागि भेना मन्त्री रिजाल, सचिव मुकुन्द निरौलाको जोडजुलुम पनि उत्तिकै भएकाले र स्टोरबाट पन्छाउनै पर्ने भएकाले उनलाई सरुवा गरिएको स्रोत बताउँछ ।

    महाशाखा प्रमुख सहसचिवहरुले मन्त्रालयकै हल प्रयोग गरी कार्यक्रम गर्न खोज्दा पत्र माग गर्ने पौडेलले गाडी, तेल लगायत स्टोरमा अनियमितता गरेको सुईको पाएपछि आफू समेत बदनाम हुने त्रासले गौतमले हतार हतार उनलाई उद्योग विभागतिर पठाएर शान्तिको सास फेर्न पाएका छन्् । पौडेलका ठाउँमा स्टोरको जिम्मा अहिले अर्का नासु यादव बस्यालले पाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार