Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ओलीले प्रचण्डलाई भने, ‘सचिवालयको औपचारिक बैठक नै फुटको घोषणा’


    शुक्रबार, कार्तिक २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्य शुक्रबार धुम्बाराहीमा बैठक बसेका छन्। 

    सो बैठक अनौपचारिक हुनुको कारण खोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभयो।’

    अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा सचिवालय बैठक राख्न प्रचण्डले गरेको प्रस्तावमा अध्यक्ष ओली सहमत भएका थिएनन्।

    प्रवक्ता श्रेष्ठका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीकै सहमतिमा आज अनौपचारिक बैठक राखेको जानकारी दिए।

    ‘पार्टीलाई विधिपद्धतिका अनुसार सञ्चालन गर्ने, सरकारका कामकारबाही थप प्रभावकारी ढंगले अगाडि बढाउन बारम्बार प्रस्ताव राखियो। तर हिजोसम्म पनि अध्यक्ष ओलीले बैठक बस्न सहमति दिनुभएन,’ श्रेष्ठले भने, ‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भन्नुभएछ।’

    सचिवालयका सबै सदस्यलाई जानकारी दिएर कार्यकारी अध्यक्षले आज अनौपचारिक बैठक राखेको उनले बताए। 

    ‘अध्यक्ष ओलीकै सहमतिमा अनौपचारिक बैठक आह्वान गरेको हो। सबै सदस्यलाई बैठकबारे जानकारी गराइएको थियो। केही कमरेडहरू व्यस्तताले गर्दा आउनुभएन,’ उनले भने, ‘अध्यक्ष ओलीले हिजै प्रचण्डसँग अनौपचारिक बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको रहेछ।’

    सचिवालय बैठक बोलाउन प्रचण्डले अर्का अध्यक्ष ओलीसँग बारम्बार पहल गरे पनि बैठक आह्वान नभएको श्रेष्ठ बताउँछन्।

    ‘कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाउन सक्ने भए पनि सकभर सहमतिमै सचिवालय बैठक राख्न खोजिएको छ। भोलि अध्यक्ष ओलीलाई भेटेर सहमतिमै छिटो सचिवालय बैठक राख्न आग्रह गर्न निर्णय भएको छ,’ उनले भने।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार