Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेशमा नेकपा विवाद बढ्दै, मन्त्री फेर्ने मुख्यमन्त्रीको तयारी


    आइतबार, कार्तिक १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशमा सुरु भएको नेकपाको आन्तरिक राजनीतिक विवाद अझै समाधान हुने छाँट देखिएको छैन । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै सुरु भएको विवाद अहिले मन्त्रिमण्डल फेरदलसम्म पुगेको छ । 

    विशेषगरी प्रदेशको राजनीतिमा केन्द्रले असन्तुलित समाधानको प्रयास गरेसँगै विवाद बढेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटलाई साथ दिएसँगै केन्द्रले सो विवाद समाधानको सम्भावना टरेको थियो । प्रदेशको विवाद भएकाले त्यतै मिलाउनु पर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको भनाइका कारण विवाद बढ्दै गएको नेकपाका नेताहरु बताइरहेका छन् । 

    विवादकै कारण मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षका मन्त्रीलाई हटाउन लागेका छन्।उनले सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाउन लागेका हुन्। स्रोतका अनुसार मुख्यमन्त्रीले ती दुबै मन्त्रीलाई राजीनामा दिन भनिसकेका छन्। तर प्रम ओलीले ती मन्त्रीहरुलाई राजीनामा दिन हतार गर्न नहुने सुझाव दिएको स्रोतको दावी छ । 

    मुख्यमन्त्रीले भने ती दुई मन्त्रीले राजीनामा नदिए उनीहरुलाई बर्खास्त गरेर सांसदहरु चन्द्रबहादुर शाही, करवीर शाही र अम्मरबहादुर थापालाई मन्त्री बनाउने तयारी रहेको छ। यी तीनै जना सांसद वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् ।

    गत असोज २५ गते नेकपाका १८ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। यही विवाद चर्किएसँगै कर्णालीमा नेकपाभित्र नयाँ समीकरण बनेको हो। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु एक ठाउँमा उभिएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव असफल भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार