काठमाडौं, २४ चैत । देशका युवाहरुको ठूलो हिस्सा खाडी राष्ट्रमा बैदेशिक रोजगारीमा छ । रकम खर्चेर गएका उनीहरु कोरोना भाइरस संक्रमण यसरी फैलेला भन्ने कल्पनासम्म गर्न सकेनन् । नेपाली युवाहरु रोजगारीमा जाने मुख्यतया साउदीअरब, कतार, युएई, बहराइन, ओमनमा कोरोना संक्रमण फैलिरहेको छ । कोरोना संक्रमणको जोखिममा नेपाली कामदार पनि परेका छन् ।
अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना संक्रमणको सबैभन्दा बढी जोखिममा बहराइनमा कार्यरत नेपाली परेका छन् । बहराइनमा अहिलेसम्म १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । केही दिनअघि बहराइनमा एकैपटक ९ जना नेपालीमा संक्रमण देखिएको थियो ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि ८ नेपाली कामदारमा कोरोना संक्रमण पुष्टी भएको छ । साउदी अरबमा ४ नेपाली कामदार कोरोना संक्रमित बनेका छन् । त्यस्तै कुवेतमा २ नेपालीमा कोरोना संक्रमण देखिएको छ भने मलेसियामा १ नेपाली कामदारमा मात्र देखिएको छ । कतार ओमानमा कार्यरत नेपालीमा कोरोना देखिएको छैन ।