काठमाडौँ, २४ चैत । एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न नमानेपछि राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई पिपिई उपलब्ध गराउने भएको छन ।
केन्द्रका अध्यक्ष महावीर पुनले काठमाडौंमा हुनुभएका एम्बुलेन्स चालकहरूले लाइसेन्ससहित एम्बुलेन्स नै लिएर आविष्कार केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आउन अनुरोध गरेका छन । उनले आज सोमबारदेखि नै पिपिई उपलब्ध गराउने बताएका छन ।
उनले काठमाडौं उपत्यकाभित्रका एम्बुलेन्स चालकलाई एक थानका दरले निःशुल्क पिपिई उपलब्ध गराउने बताएका हुन्।
‘पिपिई लगाएर जानुहोस्, बिरामी बोक्नुहोस्,’ उनले भनेका छन्।
पुनले काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका एम्बुलेन्स चालकलाई अहिले पिपिई उपलब्ध गराउन नसक्ने उल्लेख गरेका छन्।
साथै, पुनले लकडाउन अवधिका लागि सात लाख रुपैयाँ ऋण सापटी आविष्कार केन्द्रका लागि चाहिएको बताएका छन्।
पिपिईलगायत अन्य सामग्री बनाउनका लागि आर्थिक अभाव भएको उनको भनाइ छ।
‘इच्छा हुनेले र खोजिदिन सक्नेले नगद सापट दिन सक्नुहुन्छ भने हामीलाई खबर गर्नु होला,’ उनले भनेका छन्, ‘यो चन्दा मागेको होइन, सापटी हो।’
अहिलेसम्म पिपिई बनाउने खर्च आविष्कार केन्द्रबाट हुँदै आएको उनले बताए।
केन्द्रलाई १५ लाख चार हजार रुपैयाँ सहयोग प्राप्त भएको उनले बताएका छन्। साथै, पाँच लाख ५० हजार सापटी लिइएको उनको भनाइ छ।
‘केन्द्रसँग केही पैसा भए पनि चेकमा हस्ताक्षर गर्ने एक जना काठमाडौं बाहिर भएकोले केही सीप नलागेर सामान किन्न र बनाउन हाललाई सात लाख नगद सापट खोजेका हौं,’ पुनले भने।