Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुटवल उपमहानगरले भूकम्प पीडितको राहतका लागि ३० लाख रूपैयाँ सहयोग गर्ने


    सोमबार, कार्तिक २० २०८०
    950
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जाजरकोट केन्द्र भएर शुक्रबार राती गएको भूकम्पबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि बुटवल उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    आइतबार दिउँसो बुटवल उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले २५ लाख रुपैयाँ र जनप्रतिनिधिबाट संकलित ५ लाख र गरि ३० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो। त्यसैगरी कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ।

    उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ३० लाख रुपैयाँ आर्थिक सहयोग सँगै आइतबार राती नै चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाईएको जानकारी दिए।

    बुटवल उपमहानगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत सामग्री हस्तान्तरण गर्ने निर्णयअनुसार नगर प्रमुख पाण्डेयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत जाजरकोट पुग्ने गरी राहत सामग्री हस्तान्तरण गरेका हुन्।

    अव्यवस्थित रुपमा राहत सामग्री पठाउँदा वास्तविक प्रभावितसम्म पुग्न नसकेको र अन्योल सिर्जना भएको खबरअनुसार एकीकृत रुपमा राहत सामग्री संकलन गरी पठाउने व्यवस्था मिलाइएको प्रमुख पाण्डेयले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार