काठमाडौं । चकलेटजस्ता खाद्यवस्तुको प्रभावशाली वितरक विशाल ग्रुपले वितरण गर्दै आएका करिब एक अर्ब रुपियाँका वस्तु उपभोग्य मिति सच्याई विक्रीवितरण गर्न लागेकोमा सरकारले छापा मार्ने क्रममा समातिएका आठमध्ये सातजनालाई सरकारले मुक्त गरिदिएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन् ।
‘विशाल ग्रुपले वितरण गर्ने चक्लेटलगायतका वस्तु बहिष्कार गर्ने अभियान चलाउने तयारीमा छौं, हाम्रो बहिष्कार अभियान सामाजिक सञ्जालमार्फत् अघि बढ्नेछ’, काठमाडौंको कालिमाटीका सुरज ताम्राकारले भने– ‘विगतमा हामीले राजनीतिक र सामाजिक प्रकृतिका धेरै अभियान चलाइसकेका छौं, नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने कार्य सामाजिक अपराध हो, हामी चुप लागेर बस्दैनौं ।’
म्याद सकिएका सामान बजारमा पठाएको विषयमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई साता अघिबाट अनुसन्धान शुरु गरेर आवश्यक प्रमाणसमेत जुटाएको थियो । महाशाखाले कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने कानुनी अडचनको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागसँग समन्वय गरेर मिति नाघेको सामग्रीसहित आठ जनालाई रंगेहात पक्राउ गरेको थियो । गलत काम गर्ने व्यक्तिलाई पक्राउ गरेसँगै प्रहरी र विभागको निकै प्रशंसा भएको थियो तर, विभिन्न किसिमको प्रभावमा परेर आइतबार नै पक्राउ परेका व्यक्तिलाई रिहाइ गरेपछि उपभोक्ताहरू नै बहिष्कार अभियानमा सरिक भएका हुन् ।
स्निकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको प्रमाण विभागले भेटाएको छ । आयन डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रियुटरमा छापा हानेर अखाद्य वस्तु बरामद गर्दै विभागले सिल गरेको छ ।
मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने यस प्रकारको वस्तु उत्पादन तथा वितरण गर्नेलाई कालोबजारी ऐन–३०३२, उपभोक्ता संरक्षण ऐन–२०७५ र खाद्य ऐन २०२३ अनुसार कारबाही हुने प्रावधान छ । तर वाणिज्य विभागले भने पक्राउ परेकाहरू मध्ये एक जनालाई मात्र हिरासतमा राखेर सात जनालाई तारेखमा रिहा गरेको छ । उपभोक्ता संरक्षण ऐनअन्तर्गत ५ वर्ष, खाद्य ऐनअन्तर्गत १ वर्ष र कालोबजारी ऐनअन्तर्गत जति वर्ष पनि कारबाही गर्न सकिने प्रावधान छ ।
सरकारी निकायमाथि प्रभाव देखाउने शक्ति विशाल ग्रुपले पक्राउ परेका व्यक्तिलाई रिहा गराएर देखाए पनि चक्लेटलगायतका वस्तुको वितरणमा उसको प्रभाव नागरिकस्तरबाटै समाप्त हुने संकेत देखिएको छ । ‘सरकारी पक्षलाई खरिद गरिए पनि नागरिक समाजलाई कसैले खरिद गर्नसक्तैन ।’ –युवा नागरिक अभियन्ता ताम्राकारले भने ।
उपभोक्ताले अखाद्य वस्तु बहिष्कार गर्नुपर्छ
डा. अरुणा उप्रेती
आम सञ्चारमा केही ठूला खाद्य कम्पनीहरूको बदमासी पढेर अहिले मान्छेहरू कुरा गर्न थालेका छन्, ओहो, हामीलाई अखाद्य भोजन पो दिइएको रहेछ । कस्तो बदमासी ? कसरी सरकारले नहेरेको होला’? तर यसरी प्रश्न सोध्ने उपभोक्ताले कहिले पनि ‘म्याद गुज्रेका अखाद्य सामान’ किन्ने त मैले हो, मैले नकिनेको भए त पसलेले कसलाई बिक्री गथ्र्यो?’ भन्ने कुरा विचार गर्दैनन् । यस्ता किसिमका बिग्रेका पेय पदार्थ र भोजन त नेपाली बजारमा पहिले नै बिक्री हुने गरेको कसैले थाहा नपाएको हो र ? सबैलाई थाहा थियो, छ, सबै ‘तैंचुप, मै चुप’ भएर बसेका थिए ।
चाडबाड आएपछि ‘एक किन्नुस्, दुई सित्तैंमा’ भन्दा त सबै ग्राहकले बिग्रेको, सडेको चाउचाउ, गुलियो पेय पदार्थ, चक्लेट लग्दा त पसले पनि दंग, आफ्नो कुहिएको, ढुसी लागेको माल बिक्यो भनेर, ग्राहक पनि दंग मैले त ‘सित्तैंमा पाएँ’ भनेर । यस्तो खाद्यपदार्थमा ‘नयाँ लेबल’ लगाएर बेच्नेहरू हाम्रा बाबुका साथी वा साथीका बाबु होइनन्, किन हामीलाई ‘सित्तैंमा’ दिएको होला भनेर विचार गर्ने बुद्धि हाम्रो किन नभएको होला ?
तर बिग्रेको खानामा ढुसी भएर नै सस्तोमा दिएको भनेर किन कसैले विचार गर्दैनन्, किन होला ?
घरमा ढुसी परेको, बासीखाना फ्याल्ने हामी प्याकेटका ‘ढुसी’ किन्ने किन होला ? अनि अहिले किन यति ठूलो आवाज उठेको होला? किनभने, चाडपर्व आयो, आम सञ्चारमा समाचार छायो ।
काठमाडौंकी एक महिला उपभोक्ताले बिग्रेका नरिवल जति नरिवल–बिस्कुट बनाउने कारखानामा पुग्ने गरेको चाल पाएपछि सो बिस्कुट नै खान छोडेको मलाई बताएकी थिइन् । चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानिकारक हुन्छ, त्यसमाथि पनि यसरी कुहिएको र ढुसी परेको नरिवल हालेपछि त के हालत होला ? ढुसी परेको खानेकुराले कलेजोमा असर गर्छ भन्ने उनले पछि मात्र थाहा पाइन् रे । हो, यसरी नै धेरै मानिसहरू ठगिन्छन्, प्रत्येकदिन, प्रत्येक हप्ता ठगिन्छन् । ठगिए पनि किन्छन् । अनि सरकारलाई सराप्छन् ।
आज यसरी कुहिएको, बिग्रेको माल–सामान खाँदा भोलि नै समस्या नपर्ने हुनाले यस्ता खाद्यपदार्थ खाइन्छ । तर लगातार यस्ता बिग्रेका र पुराना खाना खाँदा उपभोक्ताको स्वास्थ्य बिस्तारै बिग्रँदै गइरहेको हुन्छ भन्ने कुरा हामीले कहिले याद गर्ने होला ?
दुई वर्षअघि जुम्लामा जाँदा पाँच–पाँच रुपियाँको ‘चिनो’ नामक चाउचाउ देखें । पाँचवटा पोका किनें । सबै खोलेर हेरें । चाउचाउ गन्हाएको जस्तो लाग्यो, त्यसमा रहेको बदाममा ढुसी लागेको रहेछ । बच्चाहरूले किनेर खाने त्यस्तो चाउचाउमा रहेको ढुसीले बच्चाको कलेजोमा कति असर पर्छ होला? पछि सोध्दै जाँदा थाहा भयो कि नेपालका ठूला शहरबाट बिग्रेको र म्याद नाघेका, ढुसी परेका चाउचाउ कर्णालीतिर लगेर फेरि सानो सानो प्याकेटमा भरेर बेचिँदो रहेछ । त्यो खान पाएपछि पाँच रुपियाँमा चाउचाउ खाएँ भनेर आमाबा पनि दंग, बच्चा पनि दंग ।
पसले पनि त्यसरी ढुसी परेर फ्याल्न पर्ने चाउचाउ बिकेपछि दंग । खराबी त भविष्यमा देखिन्छ, तर कसले विचार गर्छ र ?
चाडपर्वमा पाहुनालाई ख्वाउनपिलाउन ठूला ठूला पसलबाट ‘दुई जुस किन्नुस्, दुई सित्तैंमा’ भनेर देखेपछि हारालुछ गर्ने उपभोक्ताले ‘यो त म्याद नाघेको जुस हो कि’ भनेर सोच्नै नसक्ने किन होला ?
यसै पनि बट्टाको जुस र प्याकेटका खाना, वृद्ध र बालबालिकाको स्वास्थ्यका लागि राम्रो हुन्न । झन् म्यादै गुज्रिएको भएपछि त झनै खराब गर्ने नै भयो । अहिले कोरोनाको संक्रमणको बेला जब रोगसँग लड्ने शक्ति बलियो हुनुपर्छ, त्यस्तो बेलामा यस्ता काम नलाग्ने, म्याद नाघेका भोजन घरमा ल्याएर ख्वाउने विचार त्यागेकै बेस ।
उपभोक्ता आफै सचेत नभए भगवानले पनि मद्दत गर्न सक्दैनन् । आजको नेपाल समाचारपत्रबाट
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend