काठमाडौं, १९ चैत । सरकारले खरिद गरेको कोरोना भाइरस संक्रमण पत्ता लगाउने मेडिकल किट गुणस्तरहीन भएको भनी स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको प्रतिक्रिया राखेर समाचारहरु सार्वजनिक भएका छन् । यसबारेमा डा. कार्कीसँग सम्पर्क गर्दा उनले भने–‘सरकारले खरिद गरेका किट ल्याउनुअघि नै ब्यापारीले ल्याएर बजारमा बिक्री गरेका किटहरु ल्याबमा टेष्ट गर्ने क्रममा गुणस्तरहीन पाइए । तिनै किटको बारेमा आफूले बोलेको कुरालाई बंग्याइयो ।’
आफ्नो भनाइ बंग्याएर सरकारले ल्याएका किट गुणस्तरहीन रहेको प्रचार गरिएकोमा दुःख लागेको डा.कार्कीले बताएका छन् । उनले भने–‘सरकारले मेडिकल सामग्री ल्याउनुअघि नै ब्यापारीले किट ल्याएर टेष्ट पनि गरिसकेको कुरा मन्त्रालयको जानकारीमा आयो । एक लट किट ब्यापारीले ल्याएर बजारमा बिक्री गरिसकेको पाइयो । १ हजार २ सयको किटलाई ब्यापारीले १६ हजारमा बिक्री गर्न थालेको रहेछ । त्यो बिक्री गरिसकेकको किट प्याथोलोजीमा टेष्ट गर्दा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डअनुसार नरहेको पाइयो ।
यसरी मापदण्ड विपरीतका गुणस्तरहीन किट प्रयोग गर्न त रोक्नुप¥यो नि, डा.कार्कीले भने– ती गुणस्तरीय छैनन्, त्यस्ता किटबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा त्यसबाट थप क्षत हुने र समस्या ल्याउने बताएको कुरालाई बंग्याएर भ्रम छर्ने काम गरिएको छ । उनले भने–‘किटका बारेमा स्पेन लगायतका यूरोपियन देशमा पनि गुनासो आएकाले स्वास्थ्य मन्त्रालयले खरिद गरेको किट पनि गुणस्तर हेरेर मात्र पठाउने भनेका छौं । अहिलेसम्म मन्त्रालयले खरिद गरेको किट पठाइएको छैन । गुणस्तर टेष्ट गरेपछि पठाउनेछौं ।’
डा. कार्की भन्छन्–‘यसअघि नै कुनै ब्यापारीले ल्याएको किट गुणस्तरहीन भेटिएकोबारेमा बोलेको कुरालाई बंग्याएर भ्रम सृजना गरिएको छ । केहीबेरमा म यसबारेमा विज्ञप्ति पनि सार्वजनिक गर्दैछु ।’