काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई विपक्षी पार्टीका नेता फसाउने र आफ्नो पार्टीका नेता जोगाउने कार्यमा दुरुपयोग गरेका छन् ।
चीनबाट विद्युतीय चुरोट(भेप) भित्र ९ किलो सुन लुकाएर तस्करी गरी ल्याउने गिरोहसँग माओवादी नेता कृष्णबहादुर महरा र राहुल महराको पटक पटक सम्पर्क भएको देखिए पनि राजस्व अनुसन्धान बिभाग र सीआईबीले उनीहरुलाई बयानमा बोलाउन सकेको छैन । भेपमा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा कृष्णबहादुर महरा र छोरा राहुल संलग्न रहेको सीआईबी र जिल्ला सरकारी वकिल कार्यालयले किटानी गरे पनि सत्ताको आडमा अभियुक्त नबनाई जोगाएको पाइएको छ । सीआईबीको दुरुपयोग गरी आफ्नो पार्टीका उपाध्यक्ष महरालाई उन्मुक्ति दिएको बिषयमा चौतर्फी बिरोध भइरहेको छ ।
सुन विमानस्थलमा रोकिएको अवधिमा गिरोहसँग महराले छोरा निर्मलका नाममा रहेको मोबाइलबाट २२ पटक र अर्का छोरा राहुलले २ सय ३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ । तर सीआईबीले प्रमाण भए पनि महरा बाबुछोरालाई पक्राउ नगरी उन्मुक्ति दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिसकेपछि सीनामंगलबाट १ क्वीन्टल सुन बरामद भएपछि तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परे । उनीसँग माओवादी नेता बर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसमेत जोडिए । उनीहरुसँगका तस्वीर समेत सार्वजनिक भए । दावालाई नागरिकता समेत दिइएको कुरा आयो । तर बर्षमान पुन र दिपेश पुनलाई सीआईबीले छानबिनको दायरामा ल्याउन सकेको छैन ।
अमरेशको सल्लाहमा सुनिल शर्मा पक्राउ
सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले १२ कक्षाको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको भन्दै पक्राउ गरे पनि अदालतले भोलिपल्टै छाडेको छ । नक्कली प्रमाणपत्र नै रहेछ भने पनि उनले त्यसका आधारमा बिरामी परीक्षण नगरेको र प्रेस्क्रिप्सन पनि नदिएकाले कसैलाई हानीनोक्सानी पुगेको छैन । निर्वाचित सांसदलाई जघन्य अपराधीलाई झैं पक्राउ गर्ने कार्य प्रधानमन्त्री प्रचण्डकै आदेशमा भएकोमा कांग्रेसले बिरोध गरेको छ । शर्मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालानिकट हुन् । शर्माले पछिल्लो पटक कांग्रेस सभापति शेरबहादुर देउवा र डा. कोइरालाबीच निकट सम्बन्ध बनाएका थिए ।
देउवा र कोइरालाबीचको सम्बन्धमा दरार ल्याउन पनि प्रचण्डले अमरेशकुमार सिंहको सल्लाहमा सुनिल शर्मालाई पक्राउ गरेको चर्चा कांग्रेस बृत्तमा छ । सांसद शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुन तस्करीमा संलग्न भएको आरोप संसदमै लगाउँदै उनीहरुले राजीनामा नदिएसम्म अनसन बस्ने घोषणा गरेका थिए । शर्मालाई डा. महत र देउवाको सहमतिमा पक्राउ गरेको सन्देश दिने काम पनि गृहमन्त्री श्रेष्ठले गरे ।
देउवा र डा. कोइरालाबीचको सम्बन्धमा दरार ल्याउने खेलअन्तर्गत शर्मालाई पक्राउ गरिए पनि त्यो अस्त्र पनि प्रचण्ड र नारायणकाजीकै लागि प्रत्युत्पादक भएको छ । सुनिल शर्मालाई पक्राउ नगरी छानबिन गर्ने अवस्था विद्यमान हुँदाहुँदै पक्राउ गर्ने कार्य सरकारले गरेकोमा विपक्षी एमालेलेसमेत गरेको छ ।
मीनबहादुर ५० दिनदेखि थुनामा, मारवाडी ब्यापारीलाई उन्मुक्ति
ललिता निवास प्रकरणमा नेपाली ब्यापारी, २५ वटा डिपार्टमेन्टल स्टोर खोलेर हजारौंलाई रोजगारी दिएका मीनबहादुर गुरुङलाई पक्राउ गरी करिब २ महिनादेखि थुनामा राखिएको छ । उनले ललिता निवासको जग्गा खरिद गरेका हुन् । सीआईबीले हदम्याद गुज्रिएपछि कीर्तेमा मुद्दा बुझाउनका लागि गुरुङलाई थुनामा राखेको छ । गुरुङ देशलाई कर तिरेका प्रतिष्ठित ब्यापारी हुन् । उनीमाथि सीआईबीले पक्राउ नगरी मुद्दा दायर गर्नसक्ने अवस्था छ ।

दसौं अरब लगानी गरेका उनी भागेर कहीँ जादैनथे । तर उनलाई पनि जघन्य अपराधीलाई झैं २ महिनादेखि थुनामा राखी नेपालका राष्ट्रिय उद्योगपतिलाई हतोत्साही पार्ने काम सीआईबीले गरेको छ । तर मीनबहादुरले जस्तै ललिता निवासको करिब २५ रोपनी जग्गा लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उनका भाइ श्रवण गोयल, सन्दीप शारदा, मनोजकुमार केडिया, गोविन्दलाल संघाईहरुलाई पक्राउ नगरी सूचना दिएरै दुबईमा भाग्ने अवसर दिइएको आरोप सीआईबीका अधिकारीमाथि छ ।
सीआईबीका एआईजी किरण बज्राचार्य र गृहमन्त्री नारायणकाजी श्रेष्ठका सहयोगी सुशन कर्माचार्यको चलखेलमा गोयल, शारदा, संघाई, केडियाहरुलाई दुबईमा भगाइएको आशंका ब्यापक छ । ललिता निवासमा सासु इन्दु शर्माको नाममा १५ रोपनी जग्गा खरिद गरेका सुहृद घिमिरेलाई पनि अहिलेसम्म पक्राउ गरिएको छैन । ललिता निवासमै १ रोपनी जग्गा किनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका विश्वासपात्र राजेन्द्र अर्याललाई पनि एआईजी बज्राचार्यले पक्राउ नगरी उन्मुक्ति दिएकी छन् । लामिछानेको रास्वपामा लागेकै कारण अर्याललाई उन्मुक्ति दिइएको छ । अर्याललाई पक्राउ नगर्नका लागि एआईजी किरणलाई उनका दाजु पूर्वएआईजी रमेशशेखर बज्राचार्यको पनि दबाब दिएका छन् ।
सहकारी ठगीमा संलग्न चौलागाईलाई सीआईबीले किन पक्राउ गर्दैन ?
सयौं पीडितहरुले ठगिएको भन्दै महिनौंअघि सीआईबीमा उजुरी गर्दा समेत देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं सञ्चालक रविन्द्र चौलागाईं अझै पक्राउ परेका छैनन् । देउराली सहकारीका पीडितहरूमध्ये १ सय ९६ जना बचतकर्ताले उजुरी दिएपछि सहकारी विभागले २०८० असार १२ गते नै चौलागाईंलगायतलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई पत्र पठाएको थियो । तर सीआईबीका एआईजी बज्राचार्यकै कारण चौलागाई पक्राउ पर्नबाट जोगिएका छन् । एआईजी बज्राचार्य ललितपुर प्रहरी परिसरको प्रमुख(एसएसपी) हुँदा चौलागाईमार्फत् लगानी गरेकाले पीडितहरुले उजुरी दिंदा पनि सीआईबीले देउराली सहकारीको ठगीमा चासो नदिएको आरोप छ ।
देउराली सहकारीको कारोबार बन्द गरिएको छ । पीडितको अरबौं निक्षेप डुबाएर सहकारीका संचालक चौलागाई निर्धक्कसँग सुनैसुनले पहेँलै भएर घुम्न छुट पाएका छन् । सीआईबीका एआइजीकै रकम चलाएकाले चौलागाईले यसरी निर्धक्क घुम्ने छुट पाएका छन् भने पीडितहरुको रुवाबासी छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend