काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने क्रममा कीर्ते गरेको कसुरमा भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङलाई पक्राउ गरेपछि राजनीतिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । गुरुङका अलावा तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेका छन् ।
ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ताका क्रममा कीर्ते गर्ने कर्मचारीहरुमध्ये मंगलबार पक्राउ गरिएका पूर्वसहसचिव कलाधर देउजा, पूर्व उपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली हिजै छुटेका छन् ।
ललिता निवास जग्गा कीर्तेमा पक्राउ परेकाहरुमा भाटभटेनीका संचालक गुरुङ र निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त पूर्वसहसचिव सुधीर शाही हाईप्रोफाइलमा पर्दछन् । त्यसो त डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख टीकाराम घिमिरे, नापी कार्यालयका मोहम्मद साबिर हुसेनका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको सीआईबीले जनाएको छ । ललिता निवासको जग्गा दर्तामा मुख्यतः टीकाराम घिमिरे र हुपेन्द्रमणि केसीको पालामा कीर्ते भएको थियो । २०६९ सालमा समरजंग कम्पनीको जग्गा पशुपति टिकिन्छा गुठीमा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप पूर्व सचिव दिनेशहरि अधिकारीमाथि छ । उनको प्रस्ताव तत्कालीन भूमिब्यवस्था मन्त्री चन्द्रदेव जोशीले सदर गरेका थिए ।
४०६ जनाका बिरुद्ध पक्राउ पुर्जी जारी भइसकेको सीआईबीकाअधिकारीले बताएका छन् । ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीदेखि ब्यापारी सुहृद घिमिरे, कैलाशचन्द्र गोयल र हाईप्रोफाइलहरु छन् । ललिता निवास प्रकरणमा लिखत कीर्तेमा संलग्न सबैका बिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको र उनीहरुलाई पनि नियन्त्रण गरिने सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले दाबी गरेकी छन् । तर न्यायाधीश रेग्मी, ब्यापारी अग्रवाल र घिमिरेका बिरुद्ध भने पक्राउ पूर्जी जारी भए नभएको सीआईबीले खुलाएको छैन । बज्राचार्यले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित किर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू हुन नसक्ने बताइन् । उनले ललिता निवासको लिखत किर्तेमा मुद्दा दर्ता नहुनुपर्ने कुनै कारण नरहेको बताइन् ।
हाईप्रोफाइलः कसका नाममा कति जग्गा दर्ता भयो ?
प्रधानमन्त्री निवासको नाममा रहेको ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा कीर्ते गरी दर्ता गर्नेहरुमा किया मोटरका संचालक सुहृद घिमिरे, मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उनका भाइ श्रवण गोयल, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलगायत हाइप्रोफाइल छन् । सुहृदराज घिमिरे किया मोटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङका संचालक हुन् ।
घिमिरेले ललिता निवासको सरकारी जग्गा ५० हजार प्रतिआना खरिद गरेका छन् । ट्याक्स हेभन मुलुक भर्जिन आइल्याण्डबाट कालोधन सेतो बनाएर भित्र्याउने अरबपति घिमिरेले सासु इन्दू शर्माका नाममा १३ रोपनी जग्गा खरिद गरेका छन् । सुहृद घिमिरेले सासु इन्दू शर्माका नाममा दर्ता गरेको ललिता निवासको जग्गा उनका ब्यापारिक पार्टनर पुरुषोत्तम पौडेलको नाममा नामसारी गरेका थिए । सुहृद घिमिरेसहित उनकी श्रीमती रेखा घिमिरे र पौडेल पनि कन्टिनेन्टल ट्रेडिङका संचालक हुन् । घिमिरे जस्ता विवादित र गैरकानुनी काम गर्दै रातारात अरबपति भएका ब्यापारीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागदेखि कुनै पनि निकायले छानबिन गरेका छैनन् ।
ललिता निवासको जग्गाबाहेक घिमिरेको र उनको परिवारको नाममा काठमाडौं उपत्यकामा नारायणहिटी दरबार संग्रहालयको उत्तरपूर्व गैरीधारासँगै ७ रोपनी, तीनकुनेस्थित चियाको सोरुम भएको ठाउँमा पाँच रोपनी, बालुवाटारमा अशोक राणासँग मुद्दा परेको ६ रोपनीसहित ५० रोपनी जग्गा छ । जबकि, काठमाडौं उपत्यकामा एक परिवारको नाममा २५ रोपनीभन्दा बढी जग्गा भए हदबन्दी लाग्छ ।
काठमाडौं उपत्यकामा मात्रै हदबन्दीभन्दा दोब्बर क्षेत्रफल जग्गा भएका घिमिरेले बालाजु औद्योगिक क्षेत्रमा गाडी सोरुमदेखि मर्मत केन्द्रका लागि कौडीको मूल्यमा जग्गा भाडामा लिएका छन् । छायाँ सेन्टरमा पनि उनको लगानी छ । नेपाल ब्याट्री कम्पनीको नाममा बालाजु औद्योगिक क्षेत्रले भाडामा दिएको जग्गा पनि सुहृद घिमिरेले नै ओगटेका मात्र होइन, कब्जा नै गरी आफ्नो नाममा ल्याउन कीर्ते कागज तयार गरेका छन् ।
बालाजु औद्योगिक क्षेत्रको जग्गाको भाडा एक वर्ष अघि बढाउन खोज्दा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई घुस खुवाएर स्ुहृद घिमिरेले भाडा नबढाउन निर्देशन गराए । मातृका यादवका त्यतिखेरका पीए सन्तोष विष्टले बालाजु औद्योेगिक क्षेत्रको कार्यालयलाई तत्काललाई भाडा नबढाउन निर्देशन दिएका थिए । जसका कारण बालाजु औद्योगिक क्षेत्रलाई वार्षिक करोडौं घाटा भएको छ ।
गोयलको नाममा कति जग्गा छ ?
गोयल ग्रुपका सञ्चालक कैलाशचन्द्र गोयलको डिएलएफ डेभलपर्सको नाममा ललिता निवासको १९ कित्ता जग्गा रहेको देखिन्छ । गोयल ग्रुपले बैंकदेखि निर्माणसम्मका कम्पनी सञ्चालन गर्दै आएको छ । कैलाशचन्द्र गोयल चर्चित अन्तर्राष्ट्रिय उत्पादनको ट्रेडमार्क अनधिकृत(चोरी) गरी दर्ता गर्ने मुख्य नाइके हुन् । गोयलको समूहले अन्तर्राष्ट्रियस्तरमा चर्चित उत्पादनका ट्रेडमार्क उद्योग विभागका कर्मचारीसँग मिलेर पहिले नै दर्ता गर्ने गर्दछन् ।
नेपालको उद्योग विभागका कर्मचारीले घुस पाएपछि जुनसुकै अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्क दर्ता गर्ने गरेका छन् । यही कमजोरीको फाइदा गोयलले लिने गरेका छन् । गोयलको पहुँच उद्योग विभागमा विगत लामो समयदेखि छ । उनको जिल्ला, उच्चदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्म पहुँच छ । न्यायाधीशका घर घरमा उनी ब्रिफकेसमा नगद र उपहार लिएर पुग्ने गरेका छन् । ट्रेडमार्क चोरी गरी दर्ता गर्ने गिरोहका मुख्य नाइके गोयल नै हुन् ।
गोयलले जापानको चर्चित रङ कम्पनी कन्साई नेरोलिकको ट्रेडमार्क गैरकानुनी रुपमा दर्ता गरेका कारण उक्त कम्पनी अहिले पनि मुद्दा लडिरहेको छ । कन्साई नेरोलिक नेपालमा सालिमार पेन्ट्ससँग संयुक्त लगानी गर्न नेपाल आयो । तर, टे«डमार्क दर्ता गर्न उद्योग विभाग जाँदा पहिले नै दर्ता भएको थियो ।
कन्साई नेरोलिक उद्योग विभागमा मुद्दामा गयो, गोयलले आर्थिक चलखेल गरी जिते । सर्वोच्च अदालतमा पुनरावेदन दिएइको छ, तर बर्षौसम्म पनि मुद्दाको टुंगो लाग्न सकेको छैन । ट्रेडमार्क चोरी गर्ने गोयलले नै मुद्दा सार्दै अनुकूल न्यायाधीश सेटिङ गरी आफ्नो पक्षमा फैसला गराउने चलखेल गरिरहेका छन् ।
कुमार रेग्मी पक्राउ पर्लान् ?
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले ललिता निवासको जग्गा दर्ता गरी बिक्री गरिसके पनि अझै उनको नाममा थोरै जग्गा त्यहाँ छ । बाटो परेकाले उनको नामको जग्गा अझै पनि छ । ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने भूमाफियाहरुको पक्षमा कानुनी सल्लाह दिएबापत उनले घुसबापत उक्त जग्गा लिएर बिक्री गरिसकेको आरोप छ । यद्यपि उनले भाटभटेनीका संचालक मीनबहादुर गुरुङको मुद्दा हेरेबापत शुल्क जग्गा लिएको दाबी गरेका छन् । तर कानुन ब्यवसायीको आचारसंहितामा जिन्सी वा अचल सम्पत्ति लिन नपाउने ब्यवस्था छ ।
कानुन ब्यवसायी हुँदा आचारसंहिता बिपरीत जग्गा नै शुल्क लिने रेग्मीलाई सर्वोच्च अदालतको न्यायाधीश बनाएर स्वतन्त्र न्यायपालिकाकाकै धज्जी उडाइएको छ । उनले २०७७ फागुन २३ मा नेकपाको एकता खारेज गरेबापत तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनका दाजु माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्ष बनाएर गुन तिरेका थिए ।
राजनीतिक ब्यक्ति को को छन् ?
ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिजय गच्छदार मुद्दा खेपिरहेका छन् । गच्छदारसँगै पूर्व अख्तियार प्रमुख दीप बस्नेतलाई पनि ललिता निवासको जग्गा गैरकानुनी दर्तामा अख्तियारले मुद्दा दर्ता गरेको छ । शीर्षनेतामा प्रधानमन्त्री निवासको जग्गाको गुरुयोजना स्वीकृत गरेकै आधारमा माधव नेपालमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा बालकृष्ण न्यौपानेले मुद्दा दर्ता गरेका छन् । डा. बाबुराम भट्टराईमाथि पनि ललिता निवासको जग्गा दर्ता गरेको आरोप छ । यद्यपि अख्तियारले नेपाल र भट्टराईबिरुद्ध भने मुद्दा दर्ता गरेको थिएन ।
बिष्णु पौडेलका छोरामाथि के होला ?
ललिता निवासको जग्गा प्रतिआना ५० हजार रुपैयाँमा खरिद गर्ने र समाचार आएपछि फिर्ता गर्नेमा नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेल हुन् । उनका बिरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छैन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend