काठमाडौं, १५ चैत । कोरोना भाइरसको महामारी फैलिने खतरालाई मध्यनजर राखी सरकारले ५ दिनअघि देशमा लकडाउन लागू गरेको छ । लकडाउनको समयलाई केही उद्योगी ब्यापारीले कमाउने मौकाका रुपमा उपयोग गरेका छन् । सुगम ग्याँस उद्योगका संचालक शिव घिमिरे नै खाना पकाउने ग्याँसको कालोबजारीमा संलग्न भएको आरोप लागेको छ । सुगम ग्याँस बितरण गर्ने बितरकले नै घिमिरेले ग्याँसमा कालोबजारी गरेको उल्लेख गर्दै नेपाल आयल निगममा उजुरी दिएका छन् ।
कालिमाटीको करकुसी मार्गमा सुगम ग्याँस बिक्री गर्दैआएका शिवकुमार थापाले आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई सम्बोधन गरी शुक्रबार दिएको उजुरीमा उल्लेख छ–‘म कालिमाटी करकुसी मार्गको सुगम ग्यासको विक्रेता हुँ । यो क्षेत्रमा सुगम ग्यासले राम्रोसँग पारदर्शी ढंगले ग्यास वितरण गरेको छैन । एभरेष्ट सुगम लगायतका ग्यास कम्पनीको मालिक शिव घिमिरे हुन् । उनले सुगम ग्यास विक्रेताहरुलाई गत फागुन २३ गते पछि ग्यास दिएको छैन । बल्ल बल्ल चैत ५ गते धेरै पटक मैले गुनासो गरिसकेपछि ७० वटा सुगमको ग्यास पठाएको छ । जुन मैले प्रहरी राखेर रेकर्ड सहित वितरण गरेको छु ।
फागुन २३ गते पछि लामो समयपछि महिनाभर ग्यास नपठाएका कारण अहिले चैत्र महिनामा आउँदा मेरा ग्राहकहरुलाई प्रयाप्त हुने कुनै भएन । कमसेकम विपदको यो समय सापेक्ष रुपमा कोटा अनुसारको ग्यास उपलब्ध गराउनुपर्दथ्यो । तर, पहिलाको भन्दा कोटा कटाउने तर, बजारमा चाहि पहिला भन्दा बढी ग्यास पठाएको छु भन्दै हल्ला गर्ने गरिएको छ । सुगम ग्याँसले प्रतिसिलिन्डर २ देखि ३ सय रुपैयाँसम्म बढी दिने बिक्रेतालाई मात्र ग्याँस दिएर कालोबजारी गरेको उजुरीमा उल्लेख छ ।
‘हामीले सामन्यतया धेरै र थोरै बेच्ने भन्दा पनि प्रत्येक ग्राहकको डाटा राखेर नाम समेत राखेर प्रत्येक ग्राहकलाई एक वटा भन्दा बढि ग्यास वितरण गरेका छैनौं । नचिनेका र थाहा नभएका ग्राहकलाई पनि ग्यास वितरण गरेका छैनौं । तर, उनीहरुलाई हामीले कसलाई कति दिएको पूर्ण रुपमा डाटा बुझाउन तयार छौं । कम्पनीलाई मात्रै होइन हामीले आयल निगमलाई पनि वितरण गरिएको रेकर्ड दिन तयार छौं । हामी हाम्रो फोन र मोबाइल समेतको डाटा बुझाउन तयार छौं भन्दा सुगम ग्यासको वितरण हेर्नेले सबैले यस्तै भन्छन् भनेर जवाफ दिए’, बिक्रेता थापाले उजुरीमा लेखेका छन् ।
थापाको उजुरीमा उल्लेख छ–अहिले दुई वटा सिलिण्डर हुनेहरु अप्ठ्यारोमै छन् । झनै एउटा सिलिण्डर लिएर काम गर्नेहरुको के हालत हुनु । तर उनीहरुको ठूलो भनिएको ग्यास डिपोलाई आवश्यक भन्दा बढी वितरण गरिएको छ । मागे जति ग्यास पाइन्छ । म बजारमा घुमेर श्रीकृष्ण, साईबाबा लगायतका ७ वटा कम्पनीहरुका विक्रेताहरुसँग मैले सोधेको थिएँ १३७५ भन्दा केही बढि रकम तिरेर ल्याएको हो भनेर बढी मूल्य दिँदा पाइने भएको छ ।
डिपोहरुले पारदर्शी ढंगले वितरण गरेको भए कालिमाटी क्षेत्रमा हाहाकार हुँदैनथ्यो । डिपोहरुले आफै वितरण गर्ने भनेर पत्रिकामा विज्ञापन निकालियो । अहिले सुगम र एभरेष्टका ग्यास सिलिण्डर लिएर यो समयमा सिफल जानु पर्ने भयो । काठमाडौं भरिका ग्राहकहरु दूई चार जना पनि जम्मा हुन नसक्ने अवस्थामा सिलिण्डर लिएर सिफल पुगेर भिडभाड गर्दै कसरी ग्यास लिन सक्लान् । ? कसरी सम्भव होला ? त्यसैले पनि ग्यास विक्रेताहरुलाई ग्यास वितरण गर्ने अवसर जुटाइदिन पनि आयल निगमका कार्यकारी निर्देशक पौडेलसँग थापाले आग्रह गरेका छन् । शिव शिव घिमिरे सुगमका अलावा एभरेष्ट, कामाख्या, सहारा, त्रिशुल र प्रिमा ग्याँसका पनि मालिक हुन् । ग्यासको पिध काटेर कारबाहीमा परेका उनी हाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पनि हुन् ।
सुगम सहित ५वटा ग्याँस उद्योगका संचालक घिमिरेले कालोबजारी गरेको उजुरीका बारेमा आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने–‘मकहाँ उजुरी आइपुगेको छैन । आएपछि के हो बुझेर कालोबजारी भएको रहेछ भने कारबाही हुन्छ ।’