गोरखा । गोरखा अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । शुक्रबार उनको परिवारका सदस्यमा कोरोना देखिएपछि शनिवार बिहान महिलाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा आज (शनिबार) पोजेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
उनलाई अचेत अवस्थामा शनिवार अस्पताल ल्याइएको थियो । सोही दिन अस्पतालका डाक्टरले मृत घोषणा गरेको ढकालले जानकारी दिए । ‘हिजो २ बजेतिर अस्पताल ल्याइएको थियो, साढे चार बजेतिर उहाँलाई मृत घोषणा गरियो,’ उनले भने ।
सूचना अधिकारी ढकालका अनुसार उनी मस्तिष्कघातकी बिरामी थिइन् । ‘ब्रेन ह्यामरेज भएर दुई हप्ताअघि भरतपुर अस्पतालमा उपचार गर्न लगिएको रहेछ, ब्रेनमा धेरै रगत जमेको रिपोर्टमा देखियो, फेरि शरीरको एक पाटा नचल्ने गरी प्यारालाइसिस पनि भएको रहेछ,’ ढकालले भने ।
उनको शव आईसीयूमै रहेको उनले जानकारी दिएका छन् । शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताएका छन् ।