काठमाडौं । स्वास्थ्य सामग्रीको ब्यापारमा बर्षौदेखि सिन्डिकेट गर्दैआएको रसायन तथा मेडिकल आपूर्ति संघ(केमसान)ले नै सोमबार त्रिपुरेश्वरमा मेडिकल सामग्री बिक्री गर्ने पसलहरुमा तोडफोड गर्न लगाएको खुलासा भएको छ । बिहीबार ब्वाइज युनियन त्रिपुरेश्वरका अध्यक्ष निरज राउतको पहलमा भएको छलफलमा सबै स्वास्थ्य सामग्री बिक्री गर्ने थोक बिक्रेताहरु सहभागी थिए । सोमबार ब्वाइज युनियनका सदस्यहरु समेत सम्मिलित एक समूहले सर्जिकल सामानका बिक्रेतालाई किन पसल खोलेको भन्दै कुटपिट गरेपछि ब्यवसायीहरु मंगलबारदेखि बिरोधमा उत्रिएका थिए । केमसानले नै ब्वाईज युनियनलाई गलत ढंगले प्रयोग गरी मेडिकल सामग्री बिक्रीकर्तालाई कुटपिट गराएको कुरा बिहीबारको छलफलका क्रममा खुलेको छ । केमसानमा आवद्ध ब्यवसायीले बर्षौदेखि स्वास्थ्य सामग्रीमा गर्दैआएको कालोबजारी नयाँ ब्यवसायी आएपछि नियन्त्रण भएको थियो । स्वास्थ्य सामग्रीको ब्यापारमा प्रतिस्पर्धा भएपछि केमसानमा आवद्ध सिन्डिकेटका पक्षपाती केही ब्यवसायीहरु आत्तिएका थिए । त्यही भएर उनीहरुले त्रिपुरेश्वरमा रहेका स्वास्थ्य सामग्री पसल कोरोना भाइरस सर्ने त्रास देखाउँदै बन्द गर्न स्थानीय ब्वाइज क्लवलाई नै दुरुपयोग गरी सोमबारको घटना घटाएका थिए । जुन कुरा स्वास्थ्य ब्यवसायीले नै भनिसकेका छन् ।
ब्वाइज युनियनकै बदनाम भएपछि आज छलफल कार्यक्रम राखिएको थियो । जुन छलफलमा केमसानको गुण्डागर्दीको स्वास्थ्य ब्यवसायीले जमेर बिरोध गरेका थिए । बहुसंख्यक ब्यवसायीले कुटपिटको घटनाको बिरोध गर्दै पसल खोल्न समय तोक्ने केमसान सरकार हो भन्दै चर्को बिरोध गरेका थिए । ब्यवसायी कुटाएको कुरा उठेपछि केमसानका पदाधिकारी एक एक गरी बैठक छाडेर लुसुक्क हिंडेका थिए । ब्वाइज युनियनका अध्यक्ष राउतले २४ सै घन्टा सुचारु हुनुपर्ने स्वास्थ्य सामग्रीका पसल बन्द गर्ने कार्य गर्नै नहुने तथ्यलाई स्वीकार गरेका थिए । र, युनियनलाई कसैले मिसयुज गरेको भन्दै केमसानतर्फ संकेत गरेका थिए । केमसानले युनियनलाई ब्यवसायीलाई कुटपिटका लागि दुरुपयोग गरे पनि आजको छलफलमा भने मैदान छाडेर भागेपछि उसको कालोबजारी र सिन्डिकेट लाद्ने कार्यका लागि ब्यवसाय बन्द गर्न युनियनको संलग्नता भएकोमा पश्चातापको भाव समेत अध्यक्ष राउतले ब्यवसायीसामु प्रकट गरेका थिए । छलफलमा केमसानमा आवद्ध सर्जिकल ब्यवसायी अति कम थिए भने आवद्ध नभएकाहरुको बाहुल्यता थियो ।
यसरी पसल बन्द गर्न स्थानीय क्लवका ब्यक्तिलाई प्रभावमा पार्ने काम ओम सर्जिकलका रामशरण भण्डारी, विकास सर्जिकलका अक्लबहादुर भण्डारी, सनराइज सर्जिकल हाउसका सीताराम कार्की र भण्डारी सर्जिकलका प्रेम भण्डारीले गरेको आरोप छ । यी चार कम्पनीले कालोबजारी गर्नका लागि त्रिपुरेश्वरका ब्यवसायीलाई कानुन बिपरीत यति बजेदेखि यति बजेसम्म खोल्न पाउने भनी पत्र आतंक मच्चाएका थिए । जुन आतंकलाई ब्यवसायीले खारेज गरिदिएका छन् । र, चौबीसै घन्टा स्वास्थ्य सामग्री बिक्री गर्ने निर्णय पनि गरेका छन् ।
ब्यवसायीले सिन्डिकेट र कालोबजारीको बिरुद्ध चौबीसै घन्टा पसल खोल्ने निर्णय गर्दा पनि केमसानले फेरि बुधबार दिउँसो ११ देखि ५ बजेसम्म मात्र पसल खोल्न पाउने अर्को पत्र आतंक मच्चाएको छ । यसले पनि केमसान स्वास्थ्य सामग्रीको ब्यवसायमा भएको प्रतिस्पर्धाबाट कति आत्तिएको छ भन्ने पुष्टि गरेको छ ।