काठमाडौं । जावलाखेलस्थित अल्का अस्पतालमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको उपचार भैरहेको छ । उनको टाउको, हात, खुट्टा र ढाडमा गम्भीर चोट लागेको छ । यी घाउहरुका कारण कुनै दुर्घटना भने होइन, ड्युटीमा खटिएका उनीलाई एउटा भिडले निर्मम तरिकाले कुटेका कारण उनी गम्भीर घाइते भएका हुन् ।
बिहीबार बिहान ११ बजे तिर रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि सयजना भन्दा बढीको संख्यामा युवाहरुको भिड जम्मा भयो । निषेधाज्ञाका कारण रोकिएको रथ थात्रालाई निरन्तरता दिनका लागि ती युवाहरु पुल्चोक आएका थिए ।
तर निषेधाज्ञा तोडिएको भन्दै सो समूहलाई प्रहरीले हट्न भन्यो। प्रहरीको आग्रह नमान्दै जबरजस्ती रथ तान्ने काम सुरु भयो । अनि प्रहरीले बल प्रयोग गर्यो, लाठी चार्ज, अश्रु ग्यास अनि पानी फोहोरासँगै । आक्रोशित युवाले प्रहरीमाथि ढुंगामुढा गरे । प्रहरीको वाटर केननमा क्षति पुर्याए । पुल्चोक क्षेत्र पुरै तनावग्रस्त भयो ।
बल प्रयोग गरेको भन्दै रिसाएको त्यो समूह पछि त हट्यो तर समूहमै थियो ।

सोहीसमय मोटरसाइकलमा रहेका एक ट्राफिक जवान त्यतै आइपुगे । ट्राफिक जवान कमलप्रसाद घिमिरेमाथि त्यो समूह जाइलाग्यो। उनलाई भिडले पटकपटक लडाउँदै पिट्यो। प्रहरीले आएर समयमा नै उद्धार नगरेको भए स्थिति अझै खराब हुन सक्थ्यो ।
सामाजिक सञ्जालमा यतिबेला दुईओटा भिडियो भाइरल बनेको छ । एउटा भिडियोमा ती ट्राफिक जवान माथि सुरु गरिएको आक्रमण देखिन्छ भने अर्को भिडियोमा झन् बढी कुटिएको देखिएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि उनलाई कुटपिट गरेको देखिन्छ । दोस्रो भिडियोको अन्तमा एक उच्छृंखल युवकले कमलप्रसादको टाउको ढुंगाले हानेको देखिन्छ । कमलप्रसादले हेलमेट लगाएका कारण थप गम्भीर क्षति हुनबाट बचेको भिडियोमा देखिएको छ ।
सोही समूहका केही युवाले भने ती ट्राफिक जवानलाई बचाउन खोज्दै प्रहरीतर्फ लाँदै गरेको समेत देखिन्छ ।
ती ट्राफिक जवान घिमिरै महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारबाट खटिएका थिए। उनलाई प्रहरीले उद्धार गर्दासम्म नराम्रोसँग कुटिएको छ । सवारी व्यवस्थापनका लागि खटिएका उनको अहिले शरीरभरि घाउ रहेको छ । जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भैरहेका उनको
अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएसँगै बिनाकारण ट्राफिक प्रहरीमाथि सांघातिक हमला गर्नेमाथि कारबाहीको माग भैरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भैरहेको बताएका छन् । दोषीलाई जसरी पनि कारबाही गरिने प्रतिबद्धता समेत उनले जनाएका छन् ।