काठमाडौं, १२ चैत । लक डाउनका बेला सर्वसाधारणलाई नगदको समस्या पर्न सक्ने भन्दै बैंकहरुले बिहान ११ बजे दिउसो १ बजेसम्म शाखाहरुबाट सेवा दिने भएका छन् । एटिएम मेसिन उपलब्ध नरहेका ठाउँहरुमा बैंकका शाखा कार्यालहरु खुला रहने भएका छन् ।
खुलेका शाखाहरुबाट नगद बाहेकका अन्य सेवा भने नदिने नेपाल बैंकर्स संघले बताएको छ । दैनिक उपभोगीय सामाग्री खरिद गर्नका लागि नगद अभाव हुन नदिन बैंक खोल्न निर्णय गरेको संघले सकेसम्म विद्युतिय माध्यमबाटै बैंकिङ कारोबार गर्न आग्रह समेत गरेको छ ।
कुन–कुन ठाउँका बैंक शाखा खुला रहन्छन् भनेर सूची भने संघले तयार पारिसकेको छैन ।
बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन् । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो ।
यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।