सिन्धुपाल्चोक । एकपछि अर्को प्राकृतिक विपत्तिको सामना गर्दैआएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो जाँदा एकै गाउँका २२ घर पुरिएका छन् । शुक्रबार बिहानै गएको भीषण पहिरोपछि धेरै मानिस सम्पर्कविहीन भएका छन् । पहिरोले घर बगाउँदा धेरै मानिस हताहत भएको अनुमान गरिएको छ ।
शुक्रबार बिहान ४ बजेतिर पहिरो जाँदा २२ घर पुरिएको जानकारी आइसकेको बताउँदै सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले भने, ‘घटनास्थल निकै दुर्गम ठाउँमा छ । प्रहरी पुग्न समय लाग्छ । घटनामा धेरै मान्छे हताहत भएको आशंका गरिएको छ ।’
प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको उनले जानकारी दिएका छन् । ‘प्रहरीलाई घटनास्थल पुग्न अझै कम्तिमा पनि दुई घण्टा लाग्छ होला,’ उनले भने, ‘प्रहरी पुगेपछि मात्रै घटनाको यथार्थ विवरण प्राप्त हुन्छ ।’
जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले पहिरोमा पुरिएका घरमध्ये ५ घरका मानिस सम्पर्कविहीन रहेको जानकारी दिएका छन् । पहिरोमा घर पुरिएकाहरु अहिले माथि डाँडामा गएर बसेको भए पनि स्थानीयले सम्पर्कविहीनहरुको खोजी र उद्धार गर्न सकेका छैनन् । भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको जनाइएको छ ।
स्थानीयहरु उद्धार गर्न जानसक्ने अवस्थामा छैनन् । नजिकै कुनै गाउँ नभएको र प्रहरी पनि पुग्न नसकेकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । उक्त ठाउँमा मानिस हिंडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका छन् । पहिरोले बगाएका घरहरु बलेफी खोलासम्म ल्याएको उनले बताएका छन् ।