काठमाडौं । । अर्थमन्त्री डा. युवराज खतिवडा राजनीतिक ब्यक्ति नभएको फाइदा सचिव शिशिरकुमार ढुंगानाले उठाउँदैआएका छन् । अर्थमन्त्रालय वा अन्तर्गतका भन्सार र कर कार्यालयको सरुवामा उनको हैकम चल्ने गरेको छ । उनले अर्थमन्त्रालय वा अन्तर्गत कार्यरत नेकपाप्रति झुकाव राख्ने सहसचिवहरुलाई अन्यत्रै पठाएर आफ्ना विश्वासपात्रहरुलाई ल्याएका छन् । तत्कालीन एक नम्बर कर कार्यालयको प्रमुख हुँदाका उनका विश्वासपात्रहरु बाबुराम गौतम, अर्जुन भट्टराई, शिवादेवी दाहाललाई उनले अर्थमन्त्रालयमा ल्याएका छन् । यसअघि नै कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले फिट गरेका उनका अति निकट सहसचिव उत्तर खत्रीलाई पनि चलाइएको छैन ।
सचिव ढुंगानाका विश्वासपाात्र गौतमलाई ठूला करदाता कार्यालयको प्रमुखमा पठाइएको छ । नयाँ बढुवा भएका सहसचिव गौतमले अर्थका पुराना सहसचिवलाई उछिनेर ठूला करदाताको प्रमुख हुने सौभाग्य पाउनुमा अर्थसचिव ढुंगानाकै आशीर्वादले काम गरेको अर्थका एक अधिकारी बताउँछन् । अर्जुन भट्टराईलाई मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखमा पठाइएको छ । भट्टराई पनि नयाँ बढुवा भएका सहसचिव हुन् ।
त्यसैगरी, राजस्वका उपसचिवहरुको सरुवामा समेत सचिव ढुंगानाले सेटिङ गरी काठमाडौंका त्रिपुरेश्वर, न्यूरोड, पुतलीसडक जस्ता कार्यालयमा सधैं उपत्यकामै बसेकालाई नै मौका दिनेगरी तारतम्य मिलाइसकेका छन् । उपत्यका बाहिर कर्यरत उपसचिवलाई काठमाडौंमा ल्याउनुपर्ने हो । तर सचिव ढुंगानाले सधैं उपत्यकामा बसी अकूत सम्पत्ति कमाउने उपसचिवलाई काठमाडौंका मालदार कार्यालयको प्रमुखमा पठाउनेगरी सूची तयार गरिसकेका छन् । उपत्यका बाहिरका उपसचिवहरुले कर्मचारी प्रशासन महाशाखाका प्रमुख बाबुराम भण्डारीसँग काठमाडौंमा आउनका लागि गरेको अनुरोधमा सचिव ढुंगानाबाट सूची आइसकेकाले उतै भनेर मिलाउनू भन्ने जवाफ दिने गरेका छन् । नेकपा निकट कर अधिकृतहरुलाई छानीछानी खेद्दै करदाता कार्यालयमा पठाउने गरेका छन् ।
दीर्घराज मैनालीलाई आन्तरिक राजस्वको डीजी बन्ने बाटो छेक्दै ढुंगाना
राजस्व अनुसन्धान विभागका महानिर्देशक (डीजी) दीर्घराज मैनाली आन्तरिक राजस्व विभागको डीजी हुने खेलमा लागेका छन् । तर अर्थसचिव ढुंगानाले उनको बाटो छेक्न उनीभन्दा सिनियर सहसचिव गजेन्द्र ठाकुरलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक (डीडीजी)मा सरुवा गराएका छन् । मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखमा कार्यरत उनलाई सचिव ढुंगानाकै जोडमा मैनालीको बाटो छेक्नकै लागि आन्तरिक राजस्वको डीडीजीमा पठाएको चर्चा अर्थमन्त्रालयमा चल्ने गरेको छ । मैनालीले आन्तरिक राजस्वको महानिर्देशकमा सरुवा हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा मिलाइसकेको स्रोत बताउँछ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागको महानिर्देशकमा जान कुनै सहसचिव तयार नभएकाले पनि मैनालीको आन्तरिक राजस्व विभागको महानिर्देशक हुने चाहना पूरा हुन बिलम्ब भइरहेको छ । ठाकुरलाई विभागको डीडीजीमा लगेर सचिव ढुंगानाले मैनालीको आन्तरिक राजस्वको महानिर्देशक हुने चाहना तुषारापात गराइदिएको अर्थ पनि लगाउन थालिएको छ ।
कांग्रेसको सरकारको पालामा पनि क्षमतावान भनेर सरुवा नगरी काममा लगाइएका हालका राजश्व सचिव रामशरण पुडासैनीसँग अर्थमन्त्री डा.युवराज खतिवडाको सम्बन्ध बिगार्नका लागि मिडियामा सूचना चुहाउने काम पनि सचिव ढुंगानाले गर्दै आएको आरोप छ । मन्त्री खतिवडासँग पुडासैनीको विवाद भएका काल्पनिक समाचार पनि उनले मिडियामा चुहाउने गरेको कर्मचारी स्रोत बताउछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन जितेर अर्थ मन्त्रालयमा पस्न सफल भएका ढुंगाना यसअघि आरजु देउवाको निर्देशनमा एनसेलको लाभकर छलीमा सहयोग पु¥याउन अर्थमन्त्रालयमा लगिएका थिए । नेकपाको सरकार बनेपछि उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । तर, चाकरी गरी उनी पुनः अर्थमा हालीमुहाली गर्न पुगेका छन् । अहिले राजस्व समूहका अधिकृत र उपसचिवहरुको सरुवामा पनि राजस्व सचिवको भूमिका नै अति कमजोर बनाइएको छ । जबकि राजस्वका अधिकृत र उपसचिवहरुको सरुवामा राजस्व सचिव पुडासैनीको भूमिका प्रबल हुनुपर्ने हो ।