काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट झारफुकको बहानामा तातो पन्यूले डामेर यातना दिएको आरोपमा पाँज जना पक्राउ परेका छन् । गत शनिबार मनमैजु बस्ने ३६ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा जरंखु बस्ने १९ वर्षीया सचिना सारु मगरले यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य सहयोगीहरु उदयपुर घर भई हाल तारकेश्वरमै बस्ने २६ वर्षीय पदम बहादुर मगर, २६ वर्षीय संगम राई, १८ वर्षीय सागर मगर र चितवन नारायघाट घर भई हाल तारकेश्वरमै बस्ने १८ वर्षीय अजित तामाङ रहेका छन् ।
विगत केही वर्षदेखि काप्ने, बर्बराउने, छटपटाउने भई अस्वस्थ हुँदा झारफुक गर्न भन्दै मगरले पीडित महिलालाई तातो पन्यूले डाम्ने, शरीरमा तातो तेल र तातो पानी खन्याउने गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पीडित महिलाको शरीरमा छाला पाकेर खुइलिने र अनुहारको भागसमेत कुरुप भएको छ । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १४ को कुटपिट वा अंगभंग सम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दिन ३ को म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।